मिसन-२०२६ अन्तर्गत विशेष प्रशिक्षण मंसिर १ देखि

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन–२०२६ अन्तर्गत खेलाडीहरूको विशेष प्रशिक्षण मंसिर १ गतेदेखि पुनः सुरु गर्ने घोषणा गरेको छ।
सन् २०२६ मा जापानमा आयोजना हुने २० औं एसियाली खेलकुदमा स्वर्ण पदकसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित यो विशेष तयारी कार्यक्रम सञ्चालनमा ल्याइएको हो। गत आर्थिक वर्षदेखि पदकको सम्भावना भएका खेलाडीहरूलाई समावेश गरेर सुरु गरिएको यो प्रशिक्षण कार्यक्रम अब नयाँ खेलाडीहरू र खेल समावेश गर्दै पुनः सुरु गर्न लागिएको हो।
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टका अनुसार, गत आर्थिक वर्षमा ५ खेलका लागि ६ महिनाको तथा थप ५ खेलका लागि ३ महिनाको विशेष प्रशिक्षण सञ्चालन गरिएको थियो। यस पटकको विशेष प्रशिक्षणमा १२ खेल समावेश गरिएका छन्, जसमा ४५ पुरुष र ५४ महिला गरी ९९ खेलाडीले भाग लिनेछन्। यस प्रशिक्षण कार्यक्रममा २२ प्रशिक्षक पनि परिचालित गरिनेछ।
विशेष प्रशिक्षणमा समावेश हुने खेलहरूमा कराते, तेक्वान्दो, बक्सिङ, उसु, एथलेटिक्स, जुडो, कुस्ती, कबड्डी, महिला भलिबल, गल्फ, र पारा तेक्वान्दो रहेका छन्। गल्फमा २ पुरुष र १ महिला, पारा तेक्वान्दोमा २ पुरुष र २ महिला खेलाडी समावेश हुनेछन्। यसपटकको कार्यक्रममा गल्फ, पारा तेक्वान्दो, र पुरुष कबड्डीको थप समावेश गरिएको छ।
विशेष प्रशिक्षणका लागि खेलाडीहरूको छनोट सम्बन्धित राष्ट्रिय खेल संघले तोकेको कोटाका आधारमा गरिनेछ। उत्कृष्ट खेलाडीहरूलाई वैदेशिक प्रशिक्षणको अवसर पनि प्रदान गरिने योजना राखेपले बनाएको छ। प्रशिक्षक र खेलाडीलाई दैनिक ५ सय रुपैयाँ खुराक खर्च र प्रत्येकलाई १० हजार रुपैयाँ बराबरको किट्स सेट प्रदान गरिने छ। साथै, प्रशिक्षण अवधिभर उनीहरूको विमा पनि गरिनेछ।
विशेष प्रशिक्षणलाई प्रभावकारी बनाउन राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लको अध्यक्षतामा मंगलबार एक बैठक सम्पन्न भएको थियो, जसमा विभिन्न संघका पदाधिकारीहरू, विभागीय प्रमुख, र शाखा प्रमुखहरू उपस्थित थिए।
यो विशेष प्रशिक्षण कार्यक्रम आगामी असार मसान्तसम्म सञ्चालन गरिनेछ। जसको उद्देश्य आगामी एसियाली खेलकुदमा नेपालको ऐतिहासिक उपलब्धि हासिल गर्नु हो।