सुपर ओभरमा जित्दै अमेरिकाविरूद्धको सिरिज नेपाललाई

पेन्सिल्भेनिया । सोमपाल कामीको उत्कृष्ट प्रदर्शनमा नेपालले दोस्रो टी–२० खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गरेको छ।
नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल सुपर ओभरमा पुगेको थियो। नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याउँदै अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन मात्र बनाउन सकेपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो।
सुपर ओभरमा अमेरिकाले दिएको ३ रनको लक्ष्य नेपालले ४ बलमा नै पूरा गर्दै जित हात पारेको थियो। नेपालका लागि सोमपाल कामीले खेलको अन्तिम ओभरमा ७ रन डिफेन्ड गर्दै खेललाई सुपर ओभरमा धकेलेका थिए। सुपर ओभरमा उत्कृष्ट बलिङ गर्दै उनले अमेरिकालाई केवल २ रनमा रोक्दै दुवै विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १७० रनको चुनौती प्रस्तुत गरेको थियो। नेपालका लागि कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ५४ बलमा अविजित ९२ रन बनाए। त्यस्तै, अनिल शाहले २५ रन, गुलशन झाले १९ रन, र कप्तान रोहित पौडेलले १८ रनको योगदान दिएका थिए।
अमेरिकाका बलर जसदीप सिंह र नोस्थस केन्जीगेले २–२ विकेट लिए भने सौरभ नेत्राभलकरले एक विकेट लिएका थिए।
नेपालले तीन खेलको सिरिज २–० ले जित्दै सिरिज कब्जा गरेको छ। अब सिरिजको अन्तिम खेल भोलि हुनेछ।