म सभापतिको उम्मेदवार हुँ : डा शेखर कोइराला
बिराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले १५ औँ महाधिवेशनमा आफू सभापति पदमा उठ्ने निर्णयमा कुनै ‘कन्फ्युजन’ नराख्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
विराटनगरस्थित कोइराला निवासमा आज मधेस प्रदेशका नेताहरूसँगको भेटघाटमा नेता कोइरालाले भने, “अब जित्नकै लागि सभापति पदमा उठ्ने हो र पार्टीको गुमेको साख फर्काउने हो। त्यसका लागि तपाईंहरू आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय रहनुहोस्।”
उनलेे पार्टी सङ्गठन सुदृढीकरण र कार्यकर्ताहरूलाई न्याय दिलाउने काममा आफूले सोचेजति काम गर्न नसकेको स्विकार गरे।
साथै, उनले नेतृत्वमा नपुगी केही ठूला परिवर्तन सम्भव नहुने निष्कर्षमा पुगेको स्पष्ट पारे।
विसं २०८२ मङ्सिरभित्र महाधिवेशन सम्पन्न गरिनुपर्नेमा जोड दिँदै, नेता कोइरालाले यदि समयमै महाधिवेशन हुन सकेन भने कांग्रेस पार्टी नै संकटमा पर्ने भएकाले महाधिवेशनलाई समयमै सम्पन्न गराउन जिल्ला–जिल्लाका नेताहरूलाई निर्देशन दिए।














