दसैंको टिका लगाउने साइत कुन देशमा कति बजे ?
काठमाडौं। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विदेशमा रहेका नेपालीहरूको लागि पनि दसैँको टीका लगाउने उत्तम साइत तय गरेको छ। समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसार, यो साइत ३० वटा देशहरूमा बसोबास गर्ने नेपालीहरूको माग अनुसार तयार पारिएको हो।
अमेरिकालगायतका धेरै देशहरूमा बस्ने नेपालीहरूले दसैँको टीकाको साइत पाउनको लागि सोधखोज गरेका थिए, जसलाई ध्यानमा राखेर विदेशी समय र ग्रहस्थितिलाई मिलाएर साइत तय गरिएको छ।
अमेरिकामा १२ अक्टोबरको लागि टीकाको साइत जुराइएको छ। न्यूयोर्कमा बिहान १०:०१, फ्र्याङ्कफर्ट केन्टुकीमा १०:३१, टेक्सासमा १०:०५, वाशिङ्गटन डिसीमा ९:५५, र क्यालिफोर्नियामा ९:३९ बजे टीकाको शुभ साइत तोकिएको छ। क्यानडाको टोरोन्टोमा बिहान १०:१५, भ्यानकुभरमा १०:२७ बजे साइत छ।
यसैगरी, भारत, पोर्चुगल, बेलायत, मलेसिया, युएई, कतार, थाइल्याण्ड, इजरायल लगायतका देशहरूमा पनि १२ अक्टोबरकै लागि साइत तय गरिएको छ।
जापान, अस्ट्रेलिया, न्युजिल्याण्ड, र दक्षिण कोरियामा भने १३ अक्टोबरका लागि टीकाको शुभ साइत जुराइएको छ।
समितिले विदेशमा रहेका नेपालीहरूले दसैँको टीका लगाउने समयको अन्यौल नहोस् भनी ग्रहस्थितिको आधारमा साइत तयार पारेको हो।















