प्रधानमन्त्री उद्धार कोषमा एमालेको ५० लाख सहयोग

काठमाडौं। प्रधानमन्त्री उद्धार कोषमा एमालेले रु ५० लाख सहयोग गरेको छ।
काठमाडौँको सिंहदरबारमा आज एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
प्रधानमन्त्री ओलीले विपद्को सामना गर्न साझा दायित्व सम्झनुपर्ने र यसको नेतृत्व सरकारले गर्ने बताए। तीनै तहका सरकार र अन्य निकाय परिचालित भई विपद् व्यवस्थापनमा संलग्न रहेको पनि उनले स्पष्ट गरे।
एमालेको सचिवालय र संसदीय दलको असोज १५ गतेको बैठकले उद्धार कोषमा रु ५० लाख सहयोग गर्ने निर्णय गरेको थियो, साथै सांसदहरूको आधा महिनाको तलब पनि प्रदान गरिनेछ।
चेक हस्तान्तरण समारोहमा गृहमन्त्री रमेश लेखक, एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुबीर महासेठ लगायतका नेताहरु उपस्थित थिए।