तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई तत्काल लाभग्राहीहरूको विवरण पठाउन निर्देशन दिएका छन्।
आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेपछि, उनले क्षतिको मूल्याङ्कन गरी तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको बताए।
गृहमन्त्री लेखकले भने, “सरकारले यस समस्यालाई गम्भीर रूपमा लिएको छ। सकेसम्म छिटो उद्धार र राहत सामग्री वितरण गरी नागरिकको जीवन सहज बनाउने हाम्रो दायित्व हो।” उनले देशका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण जनधनको क्षति भएको उल्लेख गर्दै खोजी तथा उद्धार कार्य भइरहेको जानकारी दिए। साथै, पीडित घाइतेहरूको निःशुल्क उपचार भइरहेको र यसको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने कुरा पनि बताए।
यसअघि, गृहमन्त्रीले सुरक्षा समितिसँगको बैठकमा राहत उद्धार तथा भौतिक क्षतिबारे जानकारी लिएका थिए । उनले ललितपुरको लेलेस्थित आनन्दवन अस्पताल क्षेत्रको निरीक्षण पनि गरे, जहाँ पहिरोका कारण अस्पतालका रिसर्च टेक्निकल अफिसर विवेक सिंहको मृत्यु भएको थियो।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले हालसम्म ३९ जना मृतकका परिवारलाई रु दुई लाखका दरले घरमै पुगेर रकम वितरण गरिएको जानकारी गराए। बाँकी मृतकका परिवारलाई पनि चाँडै राहत उपलब्ध गराउने समन्वय भइरहेको बताए।
निरीक्षणका क्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन, स्थानीय वडाध्यक्षलगायतका अधिकारीहरू सहभागी थिए।