पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गरौं

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि अनिवार्य रूपमा भौगर्भिक अध्ययन गर्नुपर्नेमा जोड दिएका छन्।
माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभागले विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै अध्यक्ष दाहालले आफ्नो पहिलो कार्यकालदेखि नै व्यवस्थित बस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिँदै आएको कुरा स्मरण गरे।
अध्यक्ष दाहालले पहाडी क्षेत्रमा पहिरो र तराई तथा सहरी क्षेत्रमा बाढी र डुबानको जोखिम अव्यवस्थित बस्ती र पूर्वाधारकै कारण भएको बताए। यस्ता प्राकृतिक विपद् व्यवस्थापनका लागि भौगर्भिक अध्ययनका आधारमा मात्र बस्ती विकास र पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले वैज्ञानिक बस्ती विकास, पूर्वाधार निर्माण, र विपद् व्यवस्थापनको लागि ठोस योजना बनाउने आवश्यकता रहेको बताउँदै, राज्य संयन्त्रले पनि विपद्को पूर्वानुमान हुँदाहुँदै समेत राजधानीजस्ता ठूला क्षेत्रहरूमा तत्काल उद्धार कार्यमा देखिएको कमजोरीलाई सुधार्नुपर्नेमा जोड दिए।
उद्धार, राहत, र पुनःस्थापनामा प्रभावकारी कदम चाल्न सरकारलाई सचेत गराउँदै उहाँले सबै संयन्त्रहरूको समुचित परिचालन गर्नुपर्नेमा विशेष ध्यान दिनुपर्ने बताए।
विपद् व्यवस्थापन विभाग प्रमुख सूर्य सुवेदीले प्रतिवेदनमा विपद् प्रभावित क्षेत्रमा गरिएको अध्ययन, समस्या पहिचान, र समाधानका उपायहरू समेटिएको जानकारी दिए।