एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीको तयारी पूरा

काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को सम्पूर्ण तयारी पूरा भएको छ। शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको तयारीको जानकारी नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा गराएका छन्।
प्रतियोगितामा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्, जसमा पुरूषमा १४ र महिलामा ७ टोलीको सहभागिता रहनेछ। हालै इरानले आन्तरिक कारणवश प्रतियोगिताबाट नाम फिर्ता लिएको जानकारी पनि सम्मेलनमा दिइयो।
पुरुष टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ। नेपाल समूह ‘बी’ मा बहराइन र उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’ मा फिलिपिन्स, पाकिस्तान र जोर्डन, समूह ‘सी’ मा काजाकिस्तान, कतार, साउदी अरबिया र श्रीलंका, र समूह ‘डी’ मा अफगानिस्तान, भारत, बंगलादेश र चाइनिज ताइपेई रहेका छन्।
महिलातर्फ ७ राष्ट्रलाई २ समूहमा बाँडिएको छ। समूह ‘ए’ मा नेपाल, फिलिपिन्स, गुआम र उज्वेकिस्तान रहेका छन् भने समूह ‘बी’ मा भारत, इन्डोनेसिया र श्रीलंका छन्। पहिलो दिन, पुरुष र महिलाको दुवै टोलीले समूह चरणका सबै खेल खेल्नेछन्।
प्रतियोगिताका च्याम्पियन टोलीहरूले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक प्राप्त गर्नेछन्। दोस्रो हुने टोलीले रजत र तेस्रो हुने टोलीले कांस्य पदक पाउनेछन्। नेपालबाट महिलामा सिर्जना राई र पुरुषतर्फ विक्रम पुरीले कप्तानको भूमिका निर्वाह गर्नेछन्।
यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा समेत रहेको छ। प्रतियोगिताको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन्।
रग्बी संघका अध्यक्ष दीपक देवकोटाले कार्यक्रमलाई सफल र भव्य बनाउन मिडियाकर्मी र दर्शकलाई सहयोग गर्न अनुरोध गरे। उनले भने, “नेपाली टोलीले ५६ दिनको बन्द प्रशिक्षणसहित करिब ४ महिनासम्मको तयारी गरेको छ, र हाम्रो लक्ष्य पाँचौं स्थान हासिल गर्नु रहेको छ।”
प्रतियोगिताको पहिलो दिन ३० र दोश्रो दिन २० गरी जम्मा ५० खेल हुने छन्। यो प्रतियोगिता सिनियर स्तरको एसियाली रग्बी नेपालमा पहिलो पटक आयोजना हुँदैछ। आयोजकका अनुसार, प्रतियोगिताको अनुमानित बजेट २ करोड १० लाख रुपैयाँ रहेको छ।