धादिङमा राजमार्गका होटलमा छड्के अनुगमन, २० हजार जरिवाना

काठमाडौं। चाडपर्वको बेलामा सवारी चापको वृद्धि र बजारमा देखिने अनियमितताहरुलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय धादिङले राजमार्गका होटल, रेष्टुरेन्ट र खाद्यान्न पसलहरूको अनुगमनलाई तीव्र बनाएको छ। बुधबार साँझ पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–३ मा अवस्थित पिस हेभन रेष्टुरेन्ट एण्ड रिसोर्टलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले उक्त रिसोर्टमा खानेकुरा खुला रुपमा राखिएको र त्यसमा झिँगा भन्किएको अवस्थामा फेला पारेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को उपदफा ३९ को १ को ‘क’ बमोजिम जरिवाना गरेको हो। अनुगमन टोलीले होटल तथा रेष्टुरेन्ट सञ्चालकलाई पुनः यस्तो गल्ती दोहोरिए कडा कानुनी कारबाही गरिने चेतावनी पनि दिएको छ।
धादिङ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र शाही, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख चुणामणि पुरीलगायतको अनुगमन टोलीले पृथ्वी राजमार्गका विभिन्न क्षेत्रहरूमा रहेका होटल, रेष्टुरेन्ट तथा खाद्यान्न पसलहरूको अनुगमन गरिरहेको छ। विशेष गरी गजुरी गाउँपालिकाको आदमघाट र मलेखु क्षेत्रका होटल तथा पसलहरूमा अनुगमन गर्दा व्यवसायीलाई सचेत गराउँदै कार्यविधिअनुसार बिक्री वितरण गर्न निर्देशन दिइएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला अनुगमन समितिका संयोजक युवराज अर्यालले जानकारी दिए।
चाडपर्वको समयमा उपभोक्ताहरूले तोकिएको मूल्यभन्दा बढी रकम लिएको, अखाद्य वस्तुहरूको बिक्री गरिएको र सरसफाइमा ध्यान नदिएको गुनासोहरू आएका कारण बजार अनुगमनलाई तीव्र बनाइएको हो। अर्यालका अनुसार चाडपर्वमा व्यवसायीहरूबाट उपभोक्ताको हितविपरीत कार्यहरू बढी हुने भएकाले यस्तो गतिविधिमा नियन्त्रण गर्न अनुगमन टोली सक्रिय रहेको छ।
विशेषगरी पृथ्वी राजमार्गमा यात्रा गर्ने यात्रीहरूले खाना, खाजा तथा अन्य सामग्रीहरूको मूल्य अस्वाभाविक रूपमा बढी लिएको गुनासो गरेपछि अनुगमन गरिएको हो। चाडपर्वको बेला म्याद नाघेका वस्तु, लेबल नभएका सामानहरू र गुणस्तरहीन सामग्रीहरूको बिक्री हुने क्रम बढ्ने भएकाले यसलाई नियन्त्रण गर्न अनुगमन टोलीले यसपटक कठोर कदम चालेको छ।