झुठ्ठा विवरण पेश गरेर नागरिकता बनाई दिने चार जना पक्राउ

काठमाडौं। झुठ्ठा विवरण पेश गरेर नेपाली नागरिकता प्रमाणपत्र बनाउने कार्यमा संलग्न चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धादिङको नेत्रावती गाउँपालिका-१ का ३१ वर्षीय मदन बहादुर तामाङ, खनियाबास गाउँपालिका-५ का ५६ वर्षीय रामेश्वर रिजाल, चीनको तिब्बतका ५३ वर्षीय छिरिङ ढुन्डुप, र सिन्धुपाल्चोकका ४६ वर्षीय छिरिङ वाङ्दीन शेर्पा रहेका छन्।
पक्राउ गरिएका तिब्बती नागरिक सोनाम तामाङको जुवा सम्बन्धी कसूरको अनुसन्धानको क्रममा छिरिङ ढुन्डुपले नगद ४ लाख रुपैयाँमा नागरिकता बनाइदिएको खुल्न आएको हो।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार, सो नागरिकता प्रमाणपत्रको खोजी गर्दा छिरिङको संलग्नता स्पष्ट भएको थियो।
प्रहरीले छिरिङ ढुन्डुपसहित अन्य तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएर पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा पठाइएको छ।