रास्वपा सभापति रवि लामिछानेलाई आज पक्राउ नगर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज पक्राउ नगर्ने भएको छ। प्रहरीले दिएको जानकारी अनुसार बाहिर आइरहेका समाचार केवल हल्ला मात्र भएका हुन्।
एक प्रहरी स्रोतले भने, “छविलालजीलाई जरुरी पक्राउ पूर्जि दिएर पक्राउ गरिएको हो। रविजीलाई आज पक्राउ गर्ने कुनै तयारी थिएन। बाहिर आएका समाचार असत्य हुन्।”
तर, स्रोतले संकेत गरे अनुसार रविलाई चाँडै पक्राउ गर्ने तयारी भने रहेको छ। जिल्ला अदालत पोखराबाट पक्राउ पूर्जि लिएर उनलाई पक्राउ गरिने जनाइएको छ।
हालै गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीलाई जरुरी पक्राउ पूर्जि थमाएर पक्राउ गरिएको थियो। प्रहरीले कुनै पनि आरोपि भाग्न सक्ने खतरा देखेमा अदालतबाट अनुमति नलिइकन जरुरी पक्राउ पूर्जि दिएर नियन्त्रणमा लिन सक्छ।
यसबाहेक, रविलाई भने अदालतबाट अनुमति लिएर नै पक्राउ गरिने भएको छ।
पूर्व डिआइजी जोशीलाई पक्राउ गर्न कास्कीबाट प्रहरी टोली आएको थियो, र उक्त टोलीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले सहजीकरण गरेको थियो। जोशीको पक्राउले नेपालका विभिन्न राजनीतिक वृत्तमा चासो र चर्चाको विषय बनेको छ।
जसले आगामी राजनीतिक घटनाक्रमलाई प्रभावित पार्न सक्छ। पूर्व डिआइजी छवीलाल जोशी पक्राउ परेसँगै रवि पनि पक्राउ पर्न लागेको चर्चा चलेको थियो। रास्वापले त आफ्ना कार्यकर्तालाई पार्टी कार्यालयमा जम्मा हुन पनि भनेको थियो।