प्रधानमन्त्री ओली: “कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ”

न्यु योर्क। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकहरूले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्। उनले जलवायु परिवर्तनको असर विशेषगरी हिमाली देशहरूमा गम्भीर भएको बताउँदै नेपालको सगरमाथा र हिमालहरू पग्लिन थालेकोप्रति चिन्ता व्यक्त गरे।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार दिउँसो आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्री) कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै यो विचार राखेका हुन्।
प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जनमा शून्य योगदान गरेको र जलवायु परिवर्तनलाई रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। तर, विकसित मुलुकहरूको कार्बन उत्सर्जनका कारण नेपालको हिमाली क्षेत्र गम्भीर असरमा परेकोले त्यहाँका समुदायलाई क्षतिपूर्ति दिनुपर्ने उनको जोड थियो। उनले भने, “सगरमाथा र अन्य हिमाल पग्लिन थालेका छन्, र यसका प्रत्यक्ष असर खेप्ने समुदायलाई आर्थिक क्षतिपूर्ति दिनुपर्ने अनिवार्य छ।”
प्रधानमन्त्री ओलीले पेरिस सम्झौताअनुसार विकसित राष्ट्रहरूले जलवायु परिवर्तनको असरलाई कम गर्न आर्थिक लगानी वृद्धि गर्नुपर्ने उल्लेख गर्दै, जलवायु अनुकूलनका लागि थप स्रोतसाधनको आवश्यकतामा जोड दिए। उनले भने, “हाम्रो भविष्य उज्ज्वल छ, किनकि हामीले त्यसका लागि लगानी गर्दैछौँ।”