टुँडिखेलमा नेताहरुविरुद्ध नाराबाजी, सभापति देउवा जङ्गिए
काठमाडौँ । सैनिक मञ्च टुँडिखेलमा आयोजित गौरा पर्व विशेष कार्यक्रममा सोमबार सहभागीहरूले नेताहरू विरुद्ध नाराबाजी गरेका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बोल्दै गर्दा नाराबाजी भएपछि देउवा आक्रोशित हुँदै आन्दोलनकारीलाई गाली गरेका थिए । आक्रोशित हुँदै देउवाले भने, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस् ।’
प्रधानमन्त्री केपी ओली, काँग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित कार्यक्रममा सहभागीहरूले नेताहरू बोल्दा नाराबाजी गरेका थिए । सो क्रममा देउवा ‘लाज छैन’ भन्दै जङ्गिएका थिए ।
‘यही हो नेपालको चलन ? यही हो सिकेर आएको ?’, देउवाले भने, ‘कार्यक्रम बिथोल्ने, लाज छैन ।’ गौरा पर्व खेल्न र हेर्न आएकाहरूको कार्यक्रम बिथोल्न खोजेको भन्दै देउवाले आक्रोश व्यक्त गरेका थिए ।
नाराबाजीकाबीच देउवाले आफ्नो सम्बोधन जारी राखेका थिए । देउवा अघि प्रधानमन्त्री ओली बोल्दा पनि नाराबाजी भएको थियो ।
नाराबाजीमा सहभागीहरूले बालेन्द्र शाह(बालेन)लाई नबोलाएकोमा आक्रोश पोखेको बताइन्छ । प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह(प्रशंसा)ले बर्सेनि काठमाडौँमा गौरा पर्व विशेष कार्यक्रम गर्दै आइरहेको छ ।














