ह्यारिसबर्गकी सुवर्ण शर्माले कोरियामा सम्पन्न आइओएफटीसीमा जितिन दुई स्वर्ण सहित तीन पदक
|
Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ह्यारिसबर्गमा रहेको हिमालयन तेक्वान्दो स्कुलकी सुवर्ण शर्माले दक्षिण कोरियामा सम्पन्न १४ औँ अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) मा दुई स्वर्ण सहित तीन पदक जितेकी छिन्।
दक्षिण कोरियाको क्युन्मिङ विश्वविद्यालयमा शनिवार सम्पन्न च्याम्पियनसिपमा १२ बर्सिया सुवर्णले क्याडेटतर्फ ब्रेकिङ्ग र पुम्सेमा स्वर्ण जितेकी हुन्। स्पाइरिङ्गमा भने उनी फाइनलमा न्यु योर्ककी खेलाडी सँग पराजित भइन्।
अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीको आयोजनामा भएको च्याम्पियनसिपमा नेपाल, अमेरिका सहित आठ देशमा ६ सय ५० खेलाडी प्रतिस्पर्धामा उत्रिएका थिए।
हिमालयन तेक्वान्दो पेन्सिल्भेनियामा स्थापित नेपाली र नेपाली भाषी भुटानी समुदायकै पहिलो तेक्वान्दो स्कुल हो।
प्रमुख प्रशिक्षक नकुल शर्मा र उनीकी श्रीमती पुनम दुलाले हिमालयन तेक्वान्दो स्कुल सञ्चालन गर्दै आएका छन्।
प्रमुख प्रशिक्षक नकुलका अनुसार कोरिया पुग्नु अगाडि सुवर्णले थाइल्यान्ड सम्पन्न हिरो ओपन इन्टरनेश्नल च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेकी थिइन्।









