‘द भ्वाइस किड्स’ सिजन ३ मा फाइनलिस्ट अनुह्या तामाङलाई अमेरिकाबाट व्यापक समर्थन
पेन्सिल्भेनिया,अमेरिका/ नेपालमा जारी गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ की फाइनलिस्ट अनुह्या तामाङलाई अमेरिकाबाट व्यापक समर्थन भएको छ।
अमेरिकामा जन्मे हुर्केर नेपाली भाषा, गीत सङ्गीतमा होमिएकी बालिकाको प्रोत्साहनका लागि सङ्गीतकर्मी, खेलकर्मी तथा शुभचिन्तकहरूले अपिल समेत गरेका छन्।
अमेरिकामा रहेका नेपाली भाषी भुटानी समुदायको चर्चित साङ्गीतिक ब्यान्ड ‘फ्लामिन्गो’ ले अनुह्याको जित विश्वभरिका नेपाली भाषीको जित हुने भनेको छ।
‘अमेरिकामा जन्मिएका कयौँ बालबालिकाले नेपाली भाषा बोल्न मान्दैनन् वा जान्दैनन् तर अमेरिकामा जन्मिएकी दश बर्सिया बालिका अनुह्याले जुन हिम्मत गरेकी छन् त्यसको सम्मानका लागि पनि उनलाई जिताउनु पर्छ।’ फ्लामिन्गो ब्यान्ड सदस्यले भनेका छन्।
अमेरिकाको पेन्सिल्भेनिया निवासी फ्लामिन्गो ब्यान्डका म्यानेजर तथा मुख्य गिटारिस्ट गणेश गुरुङ, लिड भोकलिष्ट मदन राना, ड्रमर सुसन राई तथा साइमन क्षेत्री, रिदम गिटारिस्ट दीपक गुरुङ, भोकलिष्ट उत्तम गुरुङ र उद्घोषक हरि सुब्बाले सामूहिक रूपमा नै अनुह्यालाई जिताउन अपिल गरेका छन्।
यसै गरी युफोरियाका बेस गिटारिस्ट रत्न गुरुङ, महेश थुलुङ्ग एण्ड ब्याण्डका लिड गितारिस्ट, म्युजिसियन एरेन्जर विकास राई, समुदायका गायक लोकेश गुरुङ, डिस्काका प्रमुख प्रशिक्षक रण राई, गीतकार तथा साहित्यकार सुमन तामाङले पनि अनुह्याको भोट गर्दै जिताउन सम्पूर्णमा अनुरोध गरेका छन्।
गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को विजेताको घोषणा आगामी शनिवार हुने छ। फाइनलिस्ट आठ मध्येबाट दर्शकको भोटको आधारमा एक जना विजेता हुने छन्। अनुह्या टिम प्रमोद खरेलबाट फाइनलमा पुगेकी हुन्। सोही टिमबाट लाक्पा शेर्पा पनि फाइनलमा पुगेकी छिन्।
मिलन नेवारबाट समीक्षा दाहाल र डोल्मा लामा, कोच छेवाङ लामाबाट द्धितिका प्रधान र छेसाङ तामाङ तथा कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा फाइनमा पुगेका छन् ।
आउँदो शनिवार फिनाले आयोजना हुँदै छ । सोही दिन बेलुका ७ बजेसम्म भोटिङ लाइन खुला रहेको र दर्शकले आफूलाई मन पर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् ।
नेपालमा रहेका अनुह्याका पिता ओम तामाङले नेपालबाहिर बस्नेले एक दिन अगाडि नै भोट गर्न आग्रह गरेका छन्। ‘भोट ट्रान्सफर हुन केही समय लाग्ने रहेछ, त्यस कारण म अग्रिम रूपमा नै भोट गर्न अपिल गर्छु।’ समाज टाइम्स सँगको कुराकानीमा ओमले भने,’अमेरिकाबाट भोट गर्नेलाई म बिहीबार राति अगाडि नै भोट गर्न आग्रह गर्छु।’
उनले भोट गर्न कुनै समस्या भए वा थप जानकारी लिनु परेमा अमेरिकाकै फोन नम्बर १-६०३-८२०-०३०७ मा सम्पर्क गर्न भनेका छन्।