सन्दीप लामिछानेलाई ‘ए’ श्रेणीमा राखियो, क्यानले गरेका अरू निर्णय के हुन् त ?
नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) मा समावेश गर्ने निर्णय गरेको छ । क्यानको विहीबार रातिसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न १३ वटाँ निर्णय गर्दा सन्दीपलाई पनि जुलाई १ देखि डिसेम्बर अन्तिम २०२४ को केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको हो । ए श्रेणीको सम्झौतामा परेपछि सन्दीपले मासिक १ लाख रुपैयाँ क्यानबाट पाउने छन् । यसअघि सम्झौता हुँदा उनी निलम्बनमा रहेकाले यसमा समावेश थिएनन् । अहिले उनको निलम्बन फुकुवा भइसकेको छ ।
यसैगरी विश्वकप चलिरहेका बेला क्यानका बारेमा अनर्गल प्रचार गरेको भन्दै उपाध्यक्ष रोशनसिंहसहित ४ जनालाई क्यानले स्पष्टिकरण सोध्ने पनि निर्णय गरेको छ । उपाध्यक्षसिंहसँगै सदस्यहरु माधवकुमार कर्माचार्य, दुर्गाराज पाठक र सुनसरी जिल्ला अध्यक्ष चेतनाथ पौडेल रहेका छन् ।
यसैगरी क्यानको प्रवक्तामा राखेपबाट मनोनित भएका छुम्बी लामालाई मनोनित गरिएको छ । नेपाल प्रिमियर लिग नोभेम्बरमा गर्ने निर्णय हुँदा महिला टिमकी खेलाडी अप्सरी बेगमलाई कारबाही गरिएको छ । त्यसैगरी यसअघि स्पटफिक्सिङको आरोप लागेर सफाइ पाएका क्रिकेटर आदिल अन्सारीको निलम्बन फुकुवाको प्रक्रिया अघि बढाउने निर्णय पनि भएको क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
क्यानको केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरु यस प्रकार छन् ।
१. राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेले टी २० अन्तर्राष्ट्रिय प्रतियोगितामा १०० विकेट लिन सफल भएकोमा हार्दिक वधाई ज्ञापन गर्दै निजलाई यहि जुलाई १, २०२४ देखि डिसेम्बर ३१, २०२४ सम्म “ए“ ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुवन्धन गर्ने निर्णय गरियो।
२. संघबाट संचालन हुने विभिन्न गतिविधिहरु सम्वन्धि जानकारी एवंम सुचनाहरु विभिन्न मिडिया तथा सामाजिक संजालमा आधिकारिक रुपमा प्रवाह गर्नका लागि संघका सदस्य श्री छुम्बी लामालाई संघको प्रवक्तामा मनोनयन गर्ने निर्णय गरियो ।
३. विश्वकप क्रिकेटमा सहभागिताका दौरान नेपाल क्रिकेट संघ र संघका पदाधिकारीहरुलाई लक्षित गरेर विभिन्न मिडिया तथा सामाजिक संजालहरुमा संघका पदाधिकारी, सदस्य, संघसँग आवद्ध प्रदेश तथा जिल्ला संघका पदाधिकारीहरुले संघको निर्णय विपरीत हुँदै नभएको आधारहिन कुराहरुको अन्तर्वार्ता एवंम भ्रामक प्रचार गरी समाजिक संजालमा समेत सेयर गरेको पाईएको र जसले गर्दा समग्र नेपाली क्रिकेटको सफलताका लागि एकजुट भएको अवस्थामा पनि संघसँग सम्वन्धित व्यक्तिहरुको विवादास्पद अभिव्यक्तिले गर्दा संघप्रति नकारात्मक सन्देश गएको यस संघले महशुस गरेकोले त्यस्ता कार्यमा संलग्न तपसिल बमोजिमका व्यक्तिहरुलाई संघको विधान बमोजिम स्पष्टिकरण सोधि आवश्यक प्रकृया अगाडी बढाउने निर्णय पारित गरियो।
क. रोशन कुमार सिंह– केन्द्रीय उपाध्यक्ष
ख. माधव कुमार कर्माचार्य– केन्द्रीय सदस्य
ग. दुर्गाराज पाठक– केन्द्रीय सदस्य
घ. चेतनाथ पौडेल– अध्यक्ष, सुनसरी जिल्ला क्रिकेट संघ
४. नेपाल क्रिकेट संघ अन्तर्गत राष्ट्रिय छनौट समिती गठनका लागि राष्ट्रिय छनौट समितीमा रहने संयोजक तथा सदस्यहरुको मापदण्ड तयार गर्न संघका महाप्रवन्धकको संयोजकत्वमा क्रिकेट अप्रेसन्स म्यानेजर र प्रमुख वित्त अधिकृत सदस्य रहने गरी ३ सदस्यीय समिती गठन गर्ने र मापदण्ड तयार भएपछी सुचना प्रकाशन गरी राष्ट्रिय छनौट समिती गठन प्रकृया अगाडी बढाउने निर्णय गरियो ।
५. नेपाल प्रिमियर लिग आगामी नोभेम्बर÷डिसेम्बरमा आयोजना गर्ने निर्णय गरियो ।
६. एसीसीको कार्यक्रम अनुसार यहि जुलाई १९ देखि २८. २०२४ सम्म श्रीलंकामा संचालन हुने महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगितालाई मध्यनजर राखी हाल काठमाण्डौमा संचालन भईरहेको बन्द प्रशिक्षण शिविर दौरान नेपाली महिला राष्ट्रिय क्रिकेट टीमकी खेलाडी अप्सरी बेगमले राष्ट्रिय महिला टोलीका टीम व्यवस्थापक र टीम प्रशिक्षक माथी गरेको अभद्र व्यवहार गरी संघको आचारसंहिता उल्लंघन गरेको प्रति संघको गम्भीर ध्यानाकर्षण भएको हुँदा निज खेलाडीलाई तत्कालका लागि निलम्बन गर्ने र थप छानविन गरी आवश्यक निर्णय गर्न अनुशासन समितीलाई जिम्मेवारी दिने निर्णय गरियो ।
७. नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य प्रदिप मजगैयाँको संयोजकत्वमा तेज प्रकास भट्ट, दिवाकर थापा, जिना श्रेष्ठ, सुबास जैसवाल, कृष्ण प्रसाद श्रेष्ठ र नारद नेपाल सदस्य रहनेगरी ७ सदस्यीय ‘महिला बिकास समिति’ गठन गर्ने निर्णय गरियो। साथै, समितिको मेण्टरको रुपमा पूर्व कप्तान लेख बहादुर क्षेत्रीलाई मनोनयन गर्ने निर्णय गरियो।
८. लभेल ‘०’ र लेभल ‘१’ अम्पायर कोर्स तथा लेभल ‘१’ कोचिङ कोर्समा ४५ जिल्लाका प्रतिनिधीहरुलाई समेटी क्रमश ७ वटै प्रदेशहरुमा यहि जुलाई, अगस्टमा संचालन गर्ने निर्णय गरियो ।
९. त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको पिचहरुको पुनः निर्माण गरी स्तरोनती गर्ने, हाल संचालनमा रहेको जिम हललाई व्यवस्थित गर्न विस्तार गरी जिम हलमा प्रयोग हुने आवश्यक उपकरणहरु थप गर्ने तथा उक्त खेल मैदानलाई विस्तार एवंम व्यवस्थित गर्न फेन्सिङ सारी ढलको व्यवस्थापन गर्ने निर्णय गरियो ।
१०. अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट बजेट प्राप्त भएपछी ७ वटै प्रदेशहरुमा इन्डोर ट्रेनिङ सेन्टर निर्माण गर्ने निर्णय गरियो ।
११. प्रादेशिक क्रिकेट संघहरुसँग समन्वय गरी ७ वटै प्रदेशहरुमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको टर्फ विकेट निर्माण गर्ने निर्णय गरियो।
१२. प्रादेशिक क्रिकेट संघहरुमा डेभलपमेन्ट अफिसरको आवश्यकता देखिएको हुँदा ७ वटै प्रदेशहरुसँग समन्वय गरी प्रदेशहरुको सिफारीस अनुसार डेभलपमेन्ट अफिसर नियुक्त गरी निजहरुको सेवा सुविधाको लागि यस संघबाट प्रदेशरुलाई अनुदान उपलब्ध गराउने निर्णय गरियो ।
१३. म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका निलम्बित राष्ट्रिय खेलाडी आदिल आलमको निलम्बन फुकुवा प्रकृया सम्वन्धमा संघको अनुशासन समितीलाई १ हप्ताभित्र आवश्यक निर्णय गर्न जिम्मेवारी दिने निर्णय गरियो ।