जुडो रेफ्री राजेशलाई आइजेएफको ‘ए’ लाइसेन्स

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर,पेन्सिल्भेनिया/ नेपाली मूलका अमेरिकी जुडो प्रशिक्षक तथा रेफ्री राजेश कर्माचार्यले अन्तर्राष्ट्रिय जुडो महासंघ (आइजेएफ) बाट ‘रेफ्री ए लाइसेन्स’ प्राप्त गरेका छन्।
पेरुको लिमा शहरमा जारी पान अमेरिकन ओपन जुडो च्याम्पियनसिपको क्रममा राजेशले सोमबार रेफ्रीको ए लाइसेन्स पाएका हुन्।
पान अमेरिकन ओपन यस क्षेत्रबाट ओलम्पिक छनौटका लागि अन्तिम प्रतियोगिता हो। सोही ठाउँमा पान अमेरिकन क्याडेट र जुनियर च्याम्पियनसिप पनि भइरहेको छ। राजेश बी लाइसेन्स प्राप्त रेफ्रिको हैसियतमा च्याम्पियनसिप खेलाउन गएका थिए।
पान अमेरिकन ओपनमा उनले दुई वटा फाइनल बाउट खेलाएको बताए। ‘पुरुष ६० केजी र महिला ७० केजीको फाइनल मैले खेलाए।’ राजेशले भने।

‘अब ओलम्पिक लगायत ठुला प्रतियोगिता खेलाउन बाटो खुल्यो’ ए लाइसेन्स पाए पछि राजेशले समाज टाइम्स सँग भने, ‘जुडोमा अझै धेरै गर्ने धोको छ।’
राजेशका अनुसार ए लाइसेन्सका लागि विभिन्न देशका १२ जनाले लिखित र फिजिकल परीक्षा दिएका थिए। त्यसमा सबै पास भए। बी लाइसेन्सका लागि १२ मध्ये ११ जना उतृर्ण भएका हुन्।
आइजेएफ रेफ्री आयोगका फ्लोरिन डेनियल लास्काउ, आइजेएफ प्रमुख रेफ्री निर्देशक तथा मध्यस्थता आयोगका सचिव पास्केल चेयर्लिया निगरानीमा परीक्षा भएको थियो।
सोक्रममा पेरुभियन जुडो महांसघका अध्यक्ष मारिया मार्टिनेजको पनि उपस्थिति रहेको थियो। मार्टिनेजले १२ रेफ्रिलाई सम्बोधन समेत गरेका थिए।
राजेशका अनुसार आइजेएफबाट ए लाइसेन्स प्राप्त गर्ने उनी समग्र नेपालीमा तेस्रो व्यक्ति हुन्।
‘यस अगाडि मनोज केसी र धर्म श्रेष्ठले यो सफलता पाएका थिए,मनोज मेरो गुरु हुन र धर्म चेलो’ राजेशले भने,’ बी लाइसेन्स लिएको २१ वर्ष पछि मात्र ए लाइसेन्स लिन पाए।’
राजेशले सन् २००३ मा मकाउनमा आइजेएफबाट बी लाइसेन्स लिएका थिए।
‘म सन् २०१४ देखि अमेरिका बसाइ सरे, नेपाल जुडो संघले सिफारिस नगरिदिए पछि केही ढिलो भएको हो।’ जुडोका पाँचौँ डान प्राप्त उनले भने।
राजेश अमेरिकाको न्यु योर्कमा बस्दै आएका छन्। पान अमेरिकन ओपन पछि बुधवार र बिहीबार चिलिको लिमा इन्टरनेश्नल रेफ्री सेमिनार हुने र त्यसमा पनि आफूले भाग लिने राजेशले समाज टाइम्सलाई बताए।