अमेरिकाको फ्लोरिडामा अत्यन्त खराब मौसम,जहाज उडेनन्,यात्रु अलपत्र
फोर्ड लाउडरडेल, फ्लोरिडा/ दुई दिने झरीका कारण अमेरिकाको फ्लोरिडा राज्यको फोर्ड लाउडरडेल र मायमीको मौसम बुधवार पनि अत्यन्त खराब बनेको छ।
निरन्तर झरीका कारण बुधवारका अधिकांश हवाई उडान रद्द भएका छन्। झरीका कारण आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र श्रीलंका बिचको खेल रद्द भएको थियो।
मंगलवार देखिको झरी बुधवार पनि कायम रह्यो। भिजिबिलिटी अत्यन्त न्यून भएका कारण फोर्ट लाउडरडेल – हलिउड अन्तर्राष्ट्रिय एयरपोर्ट र मायमी अन्तर्राष्ट्रिय विमानस्थलका नियमित उडान प्रभावित भने । अधिकांश उडान रद्द भएका छन्। केहीले मौसम खुलेमा उडान भर्ने भन्दै यात्रुलाई पर्खाएका छन्।
खराब मौसमको सबै भन्दा ठुलो मार नेपाली क्रिकेट दर्शकले खेपेका छन्। रंगशालामा पुगेर पनि मंगलवार नेपाल र श्रीलंका खेल हेर्न नपाएका दर्शक बुधवार विमानस्थलमा यत्रतत्र भेटिएका छन्। केहीले आफूहरूको नियमित काममा असर गरेको गुनासो गरेका छन्।
केहीले विमान रद्द भएको जानकारी समयमै पाएकाले होटलमा नै रोकिएको जनाएका छन्। विमानस्थल आइपुगेका मध्ये पनि केही सबै प्रक्रिया पुरा गरी विमानभित्र पुरेर पनि अन्ततः फर्कन बाध्य भएका छन्। केही अझै मौसम खुल्ने र उडान हुने आशामा विमानस्थलमा नै प्रतीक्षारत छन्।
विमानस्थलका कर्मचारीले अनौपचारिक कुराकानीमा बुधवार मात्र होइन बिहीबार पनि उडान हुने नहुने भन्न सकिने अवस्था नरहेको बताएका छन्। उनीहरूले शुक्रवारको टिकट पक्का गरेर फर्कन यात्रुलाई सुझाव दिएका छन्।
नियमित तालिका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिम पनि बुधवार वेष्ट इन्डिज जानु पर्ने थियो। तर यो समाचार तयार पार्दा सम्म खेलाडीहरू होटलमा नै रोकिएका छन्।
राष्ट्रिय मौसम विभागले बाढी आउन सक्ने चेतावनी पटक पटक दिएको छ। विभागले सकभर घर बाहिर नजान भनेको छ।















