विधेयकको फाइल लिएर सांसद भाग्दा…

पेन्सिल्भेनिया । संसदमा सांसदहरु (माननीयबीच) झडप हुने, कुर्सी तोड्ने कुरा संसदीय अभ्यास भएका देशहरुमा सामान्यजस्तो देखिन्छ । पछिल्लो समय विहीबार मात्रै नेपालको संसदमा सत्ता पक्ष र प्रतिपक्षबीच धकेलाधेकल भएको थियो ।
तर, ताइवानको संसदमा के भयो त्यो देखेर संसारभरका सांसदहरूले लाज मान्नुपर्छ । ताइवानका सांसद विधेयक पास नहुने डरले उक्त विधेयकसहितको फाइल लिएर भागेका थिए । विधेयक लिएर सदनबाट भागेको भिडियो अहिले विश्वभर भाइरल भएको छ । मानिसहरुले विभिन्न खालका टिप्पणी गरिरहेका छन् ।
रोयटर्सको रिपोर्टका अनुसार, ताइवानका सांसदहरू शुक्रबार एउटा असामान्य घटनामा संलग्न भए, जब एक सांसद बिल बोकेर सदनबाट भाग्न थाले । त्यतिबेला संसद भवनभित्र ठूलै झडप भएको थियो । धेरै सांसद कुर्सीमा चढे । संसद सदस्य गुओ गुवेनले टेबुलमा राखेको विधेयक लिएर भाग्न थालेपछि धेरैले उनलाई समात्ने प्रयास गरे तर सबै असफल भए । सांसद कागजपत्र लिएर सदनबाट बाहिरिए ।सदनमा चर्काचर्की र हानाहान नै भएको थियो ।
ताइवानका नवनिर्वाचित राष्ट्रपति लाइ चिङ–टेले सोमबार पदभार ग्रहण गर्न लागेका बेला यो घटनाक्रम सार्वजनिक भएको हो । वास्तवमा, राष्ट्रपति लाइ चिङ्–टे जनवरी महिनामा चुनाव जितेका थिए तर उनको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) को संसदमा बहुमत छैन । विपक्षी दल कुओमिन्ताङ (केएमटी)सँग डीपीपीभन्दा बढी सिट छ तर संसद एक्लै नियन्त्रण गर्न पर्याप्त छैन ।
यसैबीच, विपक्षीहरूले संसदलाई झूट बोल्ने अधिकारीहरूलाई कारवाही गर्ने विवादास्पद योजना सहितको विधेयक सहित सरकारका कार्यहरूको छानबिन गर्न संसदलाई थप अधिकार दिनु पर्ने विषयमा ताइवानको संसदमा हंगामा भएको छ ।