छिमेकीको पौडी पोखरीमा डुबेर साढे तीन वर्षको नेपाली भाषी बालकको निधन

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर / अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा छिमेकीको पौडी पोखरीमा डुबेर साढे तीन वर्षको नेपाली भाषी बालकको निधन भएको छ।
ल्यानक्यास्टरको विड्ल्याण्ड एभ्युन्युमा आइतबार घटना भएको हो । भुट्नीज कम्युनिटी डेवलभमेन्ट ल्यानक्यास्टर (बीसीडी) का अनुसार निधन हुने बालक पुजन चौहान हुन्। उनी तुलसी राम चौहान र पूर्णिमा क्षेत्रीका कान्छा छोरा हुन्।
निधन भएका पुजनका ठुला बाबा कुल चौहानका अनुसार आइतबार दिउँसो सबै जना घर भइरहेको समयमा एक्कासि छिमेकीले पौडी पोखरीमा डुबेको बच्चा बारे खबर गरेका थिए।
‘आइतबारको दिन सबै जना घरमा नै थिए, बालक नदेखिए पछि घर वरीपरी खोज्दै गर्दा, त्यही बेला छिमेकीले आफ्नो पौडी पोखरीमा भेटेको भनेर बच्चा लिएर आए, तत्काल ९११ फोन गरियो, मुटुको धड्कन राम्रो नदेखिए पछि अस्पताल पुर्याउदा पुर्याउदै दुखद घटना भयो।’ समाज टाइम्स सँग उनले भने ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको र पोस्टमार्टम रिपोर्ट आए पछि दाहसंस्कार गरिने जनाकारी उनले दिए।
यसै बिच बीसीडीले घटना प्रति दुख व्यक्त गरेको छ।
‘पुजन चौहानको असामयिक मृत्युको खबरले हामी स्तब्ध र शोकमा छौँ।’ बीसीडीको फेसबुक पेजमा लेखिएको छ, ‘दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन र आफन्तजनमा बीसीडी गहिरो समवेदना प्रकट गर्दछ।’