टेक्ससमा महायज्ञ सुरु कलश यात्रामा उत्साहजनक सहभागिता

Getting your Trinity Audio player ready...
|
युलेश, टेक्सस/ पशुपति नाथ तथा बौद्ध बिहार निर्माणका लागि आर्थिक सङ्कलन गर्न नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र टेक्ससको आयोजनामा श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ मङ्गलवारबाट सुरु भएको छ।
आध्यात्मिक महोत्सव नाम दिएको महायज्ञको पहिलो दिन आयोजित कलश यात्रामा उत्साहजनक सहभागिता रहेको छ।
ज्ञान महायज्ञ उद्घाटन पूर्व आयोजित कलश यात्रामा सहभागी सयौँ महिला तथा पुरुषहरूले कलश सहित मन्दिर परिक्रममा गरेका थिए ।
त्यस पछि मन्दिर परिसरमा उद्घाटन कार्यक्रम आयोजना गरिएको थियो। पशुपति नाथ तथा बौद्ध बिहार निर्माणको लागि एक लाख डलर भन्दा बढी सहयोग गर्ने दाताहरूले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गरे। उक्त अवसरमा पण्डितहरूबाट स्वस्ति वाचन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा युलेश सिटीकी मेयर लिन्डा मार्टिन प्रमुख अतिथि रहेकी थिइन्। उनले नेपाली समुदायमा देखिएको सांस्कृतिक एकताको प्रशंसा गरिन्। मेयर मार्टिनले समुदायको लागि गरिने साझा सवालमा युलेश सिटी साझेदारी र सहयोग गर्न तयार गरेको बताइन ।

‘युलेश सिटी विविधतायुक्त सांस्कृतिक सहर हो, नेपाली समुदायले आयोजना गर्न लागेको आध्यात्मिक महोत्सव कार्यक्रमको सफलताको शुभकामना दिन चाहन्छु।’ मेयरेले भनिन्।
उद्घाटन कार्यक्रममा महायज्ञका मुख्य वाचक पण्डित दिनबन्धु पोखरेलले प्रवासमा समेत जात तथा क्षेत्रका नाममा नेपाली समुदाय विभक्त हुन थालेकोमा चिन्ता व्यक्त गरे। उनले धार्मिक तथा आध्यात्मिक चेतनाको माध्यमबाट नेपाली समुदायलाई जोड्नु पर्ने धारणा राखे।
टेक्ससका नेपाली समुदायले सुरु गर्न लागेको पशुपतिनाथ तथा बौद्ध बिहार मन्दिर निर्माण बृहत् परियोजनाको प्रशंसा गर्दै पण्डित पोखरेलले यसलाई सम्पन्न गर्न समुदायले एकै ठाउँमा उभिएर सहयोग गर्नु पर्ने बिचार व्यक्त गरे।
केन्द्रका सचिव डा. दिनेश ज्ञवालीद्वारा सञ्चालित उद्घाटन कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले टेक्ससमा नेपाली समुदायको आकर्षण बढी रहेको बताए। उनले प्रवासमा नेपाली भाषा, कला तथा संस्कृतिको प्रवर्द्धन गरेर मिनी नेपाल निर्माण गर्न जरुरी भइसकेको धारणा राखे। पशुपतिनाथ तथा बौद्ध बिहार मन्दिर निर्माण नेपाली समुदायको प्राथमिकता प्राप्त परियोजना भएको बताउँदै वाग्लेले परियोजना सम्पन्न भएमा एकै स्थानमा सिङ्गो नेपाल देख्न सकिने दाबी गरे।
कार्यक्रममा मन्दिरका पूजा समितिका उपाध्यक्ष छवि चापागाईँले महायज्ञको उद्देश्य सहित विविध पक्षको बारेमा जानकारी दिएका थिए।
ज्ञान महायज्ञ अप्रिल १७ तारेखसम्म चल्ने छ । महायज्ञबाट ५० लाख अमेरिकी डलर सङ्कलन गर्ने लक्ष्य राखिएको छ।