अमेरिकी तेक्वोन्दो मार्शल आर्ट्स एकेडेमीकी ११ वर्षीय सहारा कार्कीले पाइन ब्ल्याक बेल्ट
भर्जिनिया/ सीप र समर्पणको उल्लेखनीय प्रदर्शन गर्दै, ११ वर्षकी सहारा कार्की तेक्वान्दोको संसारमा नयाँ उचाइमा पुगेकी छिन् ।
छैटौँ कक्षामा अध्ययनरत सहाराले अमेरिकन तेक्वान्दो मार्शल आर्ट्स एकेडेमीमा मास्टर कृष्ण बलालको विज्ञ मार्गदर्शनमा आफ्नो मार्शल आर्ट यात्रामा महत्त्वपूर्ण कोसे ढुङ्गाको रूपमा ब्ल्याक बेल्टको प्रतिष्ठित दर्जा हासिल गरेकी छिन् ।
सहाराले शनिवार ब्ल्याक बेल्ट प्राप्त गरेकी हुन्। त्यस अगाडी उनले कौशल प्रदर्शनी गरेकी थिइन्।

कम उमेरमा उल्लेख्य उपलब्धि हासिल गरेकी कार्कीको विभिन्न च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन अचम्म लाग्दो छ। उनले असाधारण प्रतिभा र दृढ सङ्कल्प प्रदर्शन गर्दै नेसनल क्यापिटल ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन्। यस्तै मेरील्याण्डको क्याप्टेन कपमा दुई स्वर्ण पदक प्राप्त गरिन् । एएयू भर्जिनिया राज्य च्याम्पियनसिपमा पनि उनले स्वर्ण पदक जितेकी थिइन्। उनी अमेरिकाको तेक्वोन्दो भर्जिनिया राज्यमा स्वर्ण पदक विजेताको रूपमा पनि सम्मानित भइन्।
उल्लेखनीय उपलब्धिहरूले सहाराको उत्कृष्टताप्रतिको अटल प्रतिबद्धता र मार्शल आर्ट क्षेत्रमा उनको निर्विवाद क्षमतालाई जोड दिने प्रशिक्षक मास्टर बलालको विश्वास छ।

सहाराले पनि भविष्यमा मास्टर बन्ने चाहाना राखेकी छिन्।
२०२१ को सेप्टेम्बरमा स्थापित अमेरिकन तेक्वान्दो मार्शल आर्ट्स एकेडेमी, मास्टर कृष्ण बलालको निर्देशनमा द्रुत रूपमा उत्कृष्टताको केन्द्र बनेको छ।
यसले मार्च एक तारिख देखि आधिकारिक प्रशिक्षण प्रारम्भ गरेको हो । एकेडेमीले तेक्वान्दोको भविष्यलाई आकार दिँदै सहारा कार्की जस्ता आशाजनक प्रतिभाहरूको खोजी र सशक्तीकरण गर्ने काम जारी राख्ने प्रशिक्षक मास्टर बलालको भनाई छ।


















