साउदीमा व्यवसाय गर्दै आएका एक नेपालीले महिला राष्ट्रिय टिमलाई दिए दश लाख

Getting your Trinity Audio player ready...
|
काठमाडौँ/ साउदी अरबमा डेढ दशकदेखि बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का यम बहादुर गुरुङ (यम तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपैयाँ प्रदान गरेका छन्।
साउदी अरेबियामा फागुन १६ गते भएको वाफ च्याम्पियनसिपको फाइनलमा हेर्न पुगेका तमुले खेलाडीको उच्च प्रदर्शनबाट आफू प्रभावित भएको जनाउँदै महिला टोलीलाई एक मुष्ट रकम दिएका हुन्।
उनले अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य, एन्फा महिला संघकी अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्की सदस्य पेमा डोल्मा लामालाई रकम पठाइसकेको राखेप प्रचार विभागले जनाएको छ।
तमुकी श्रीमती उमाको उपस्थितिमा केही दिनमा खेलाडीलाई रकम हस्तान्तरण गर्ने तयारी भएको पनि सदस्य लामाले जनाइन। टोलीमा २३ खेलाडी रहेका छन् ।
जोर्डनसँगको फाइनलमा नेपाल पेनाल्टी सुट आउटमा ५–३ ले पराजित भएको थियो । निर्धारित समयमा फाइनल २–२ बराबरी भएको थियो । त्यसअघि सेमिफाइनलमा लेबनानलाई २–१ ले हराएको नेपालले समूह चरणमा इराकलाई ५–०, सिरियालाई ४–१ र प्यालेस्टाइनलाई ४–० ले हराएको थियो ।
१५ वर्षदेखि साउदी बस्दै आएका तमुले ५ वर्षदेखि साउदीको रियादमा लालीगुराँस नेपाली रेस्टुरेन्ट सञ्चालन गरेका छन्।
‘महिला टोलीले जसरी प्रतियोगिता खेल्यो त्यो स्तरीय थियो, हामी सबैले उहाँहरूको हौसला बढाउनु पर्दछ भन्ने ठान्दछु,’ तमुले भने ,‘म यहाँ पनि अन्य सामाजिक काममा पनि संलग्न छु । महिला टोलीका खेलाडीलाई सहयोग गर्न पाउँदा खुसी छु । ’