अमुल गोर्खाली आइओएफटिसिको बोर्ड सदस्यमा नियुक्त, पुन पाए इभेन्ट कोअडिनेटरको जिम्मेवारी
पोर्टल्याण्ड/ एभरेष्ट वल्ड क्लास तेक्वान्दो मिचिगनका स्कुलका डाइरेक्टर मास्टर अमुल गोर्खाली इन्टरनेश्नल ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसि) को बोर्ड सदस्य नियुक्त भएका छन्।
अमेरिकाको ओरिगन राज्यको पोर्टल्याण्डमा रहेको हेडक्वाटरमा आइओएफटिसिकी महासचिव करेन ब्ल्याकलेजले गोर्खालीलाई नियुक्त पत्र प्रधान गरिन्।
‘तेक्वान्दोमा दिएको सहयोग र योगदानको उच्च मूल्याङ्कन गर्दै तपाईँलाई बोर्ड सदस्यमा नियुक्त गरिएको छ।’ नियुक्ति पत्र हस्तान्तरण गर्नु अगाडि महासचिव करेनले भनिन्।
आइओएफटीसीको बोर्डमा प्रवेश पाउने गोर्खाली दोस्रो नेपाली हुन्। यस अगाडि ग्राण्ड मास्टर दिवाकर ‘डान’ महर्जन बोर्ड डाइरेक्टरको रूपमा कार्यरत छन्।
गोर्खाली युवा अवस्थामा नै अमेरिकी तेक्वान्दोमा सफलता हात पार्ने नेपालीमुलका प्रशिक्षक पनि हुन्।
उनले अमेरिकाबाट वर्ड च्याम्पियनसिपमा सहभागी हुने खेलाडी उत्पादन गरेका छन्।
उनी राष्ट्रिय खेलकुद परिषद्का पूर्व तेक्वान्दो प्रशिक्षक मास्टर लव गोर्खालीका छोरा हुन्।
एभरेष्ट वर्ड क्लास तेक्वान्दो मिचिगन लव गोर्खालीले स्थापना गरेका हुन्।
पुन पाए इभेन्ट कोअडिनेटरको जिम्मेवारी
मास्टर अमुल गोर्खालीले १४ आइओएफटीसीमा पनि इभेन्ट कोअडिनेटरको जिम्मेवारी पाएका छन्। सन् २००० बाट सुरु भएको आइओएफटीसीको १३ औ संस्करण सन् २०२२ मिचिगनमा भएको थियो। सो समय पनि इभेन्ट कोअडिनेटर रहेका गोर्खालीलाई पुन जिम्मेवारीमा निरन्तरता दिइएको हो।
१४ औ आइओएफटीसी आगामी अगस्त २४ तारिख दक्षिण कोरियामा हुँदै छ।
‘१३ औ आइओएफटीसीमा उहाँले (अमुल) आफ्नो जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्नु भयो, त्यस कारण यस पटक पनि जिम्मेवारी दोहोर्याउने निर्णयमा पुगियो।’ बोर्ड डाइरेक्टर महर्जनले भने।















