पेन्सिल्भेनियाको च्याम्बर्सबर्ग हिमालयन तेक्वान्दो खुल्दै
च्याम्बर्सबर्ग/ पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्ग नजिकै रहेको च्याम्बर्सबर्गमा नेपाली समुदायको लागि नयाँ तेक्वान्दो स्कुल खुल्ने भएको छ।
प्रशिक्षक ओम विष्टले हिमालयन तेक्वान्दो स्कुल संचालन गर्न लागेका हुन्।
‘मार्च १७ तारिख देखि कक्षा सुरु हुन्छ।’ समाज टाइम्स सँगको कुराकानीमा विष्टले भने,’नयाँ ठाउँ हो राम्रै हुन्छ भन्ने छ।’
सन् २०१७ मा अमेरिका आएका विष्टले सुरुवाती केही वर्ष ओरिगन राज्यको पोर्टल्याण्डमा साग स्वर्ण विजेता निरञ्जन श्रेष्ठको स्कुलमा तेक्वान्दो प्रशिक्षकको रूपमा काम गरेको बताए।
उनी दुई वर्ष अगाडि पेन्सिल्भेनिया सरेका हुन्। विष्टले गत वर्षको जुन महिना देखि नै पेन्सिल्भेनियाको सिपिङ्गबर्गमा स्कुल संचालन गर्दै आएका छन्।
‘पेन्सिल्भेनिया आए पछि मलाई नेपालमै हुँदा ब्याल्कबेल्ट दिलाउने प्रशिक्षक नकुल शर्मा सँग भेट भयो, उहाँकै सल्लाह र प्रोत्साहनले हिमालयन तेक्वान्दो स्कुल खुलाउने निर्णयमा पुगे।’ विष्टले भने। नकुल शर्मा पेन्सिल्भेनियामा तेक्वान्दो स्कुल संचालन गर्ने पहिलो नेपाली भाषी हुन्। शर्माले सन् २०१८ देखि ह्यारिसबर्गमा हिमालयन तेक्वान्दो संचालन गर्दै आएका छन्।
विष्टले आलोपालो गरेर दुवै ठाउँमा स्कुल संचालन गर्ने बताए। विष्टका अनुसार च्याम्बर्सबर्गमा तीन दिन कक्षा संचालन हुने छ। ‘बिहीबार र शुक्रवार नियमित स्कुल पछि कक्षा संचालन हुन्छ, शनिवार र आइतबारमा कुन दिन भन्ने सल्लाह हुँदै छ।’ विष्टले भने।
उनले तेक्वान्दोका सँग सँगै नृत्य कक्षा पनि संचालन हुने जनाए। ‘म २०५८ साल देखि नृत्य प्रशिक्षक पनि हुँ, तेक्वान्दो र नृत्यलाई सँग सँगै अगाडि लैजान्छु।’ विष्टले भने।
विष्टले मासिक शुल्क एक सय १५ डलर तोकिएको बताए। ‘पहिलो बिस जनालाई भर्ना फि र पोसाक निःशुल्क हुने छ।’ विष्टले भने ।















