पुष्पलाल स्मृति राष्ट्रिय र्याङर्याङ ब्याडमिन्टनको उपाधि प्रिन्सलाई
काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लबका प्रिन्स दाहालले लगातार चौथो पटक पुष्पलाल स्मृति राष्ट्रिय र्याङर्याङ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।
१३ औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङर्याङ ब्याडमिन्टन २०८० को शनिबार भएको फाइनल खेलमा शीर्ष ८ तर्फको पुरुष एकलमा ललितपुरका प्रफुल महर्जनमाथि २१–१८, २२–२० को संघर्षपूर्ण जित निकाल्दै प्रिन्सले चौथो पटक उपाधि उचालेका हुन् ।
यस विधाको तेस्रो स्थानमा एपीएफका देवराज राना र नेपाल पुलिसका सुनिल जोशी रहे । एमाले निकट नेपाल खेलकुद महासंघ नेपालको आयोजनामा भएको प्रतियोगिताको शीर्ष ८ को महिला एकलतर्फ ललितपुरकी रसिला महर्जनले जित हात पारिन् ।
रसिलाले भोजपुरकी नङ्गशल तामाङलाई १७–२१, २१–१५, २२–२० को संघर्षपूर्ण खेलमा पराजित गरेकी हुन् । तेस्रो स्थानमा आर्मीकी अनुमाया राई र नेपाल पुलिसकी नीता लम्साल रहे ।
विजेताले नगद ५० हजार, उपविजेताले नगद ३० हजार र तृतीय स्थान प्राप्त गर्नेले नगद १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
पुरुष शीर्ष ८ बाहेकको उपाधि भने एपीएफका क्षितिज खनालले हात पारे । खनालले फाइनलमा नखिपोटका विवेक चौधरीलाई २१–१६, १७–२१, २१–१५ ले पराजित गर्दै उपाधि उचालेका हुन् । तेस्रो स्थानमा आर्मीका पविन लिङथेप र एपीएफका रोशन साउद रहे ।
यस्तै, यसै विधाका महिला तर्फको खेलमा कास्कीकी दिलासा रानाले जित हात पारिन् । उनले बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईलाई २१–१४, २१–१३ ले पराजित गरेकी हुन् । तेस्रो स्थानमा नेपाल पुलिसकी सुषमा श्रेष्ठ र पोखरा स्पोर्टस् ब्याडमिन्टन सेन्टरकी आयुष्मा नेपाल रहे ।
चन्द्रागिरिस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष युगलतर्फ एपीएफका प्रिन्स दाहाल र विजित थापा मगर तथा ललितपुरका प्रफुल महर्जन र आर्मीका सुरोज महर्जनको जोडीबीच भएको प्रतिस्पर्धामा प्रिन्स र विजितको जोडीले जित हात पारे । प्रिन्स र विजितको जोडीले २१–७, २२–२४ र २१–१२ को जित हात पारेका हुन् । तेस्रो स्थानमा पाँचथरका दिवस शंकर र भोजपुरका विशाल तामाङ तथा नेपाल पुलिस क्लबका जीवन आचार्य र विष्णु कटुवालको जोडी रहे ।
महिला युगलतर्फ आर्मीकी अमिता गिरी र ललितपुरकी रसिला महर्जनले जित हात पार्दै उपाधि उचाले । गिरी र महर्जनको जोडीले आर्मीकी अनुमाया राई र मोरङकी सीमा राजवंशीलाई २१–१९, २१–१२ ले पराजित गरेका हुन् । तेस्रो स्थानमा कास्कीका शीतल केसी र अनु राना तथा एपीएफकी शोभा गौचन र नेपाल पुलिसकी नीता लम्साल रहे ।
यु–१३ को ब्वाइजतर्फ महांकाल ब्याडमिन्टन क्लबका सफल भुजेलले जित हात पार्दै उपाधि कब्जा गरे । भुजेलले कैलालीका रियांस चौधरीलाई २१–१४, १८–२१, २१–१५ ले पराजित गरेका हुन् । तेस्रो स्थानमा धन्वन्तरिका सुहम कार्की र एपीएफका आरुष सिम्खडा रहे ।
गल्र्सतर्फ दीपक ब्याडमिन्टन एकेडेमीका अस्मिता खत्रीले क्लब मध्यपुरकी स्वर्लिन श्रेष्ठलाई २१–१७, २१–१६ ले पराजित गर्दै उपाधिमा नाम लेखाइन् । दीपक ब्याडमिन्टन एकेडेमीकी उपासना बोहरा र बेलटार ब्याडमिन्टन एकेडेमीकी दिया राई संयुक्त तेस्रो भए ।
यु–१७ एकलतर्फ आर्मीका सुप्रिम पन्तले युनिग्लोबल कलेजका सक्षम ढकाललाई २१–१८, २१–१२ ले पराजित गर्दै उपाधि उचाले । एपीएफका अरुण अधिकारी र रिभाइभ लिजर पार्कका किरण न्यौपाने संयुक्त तेस्रो भए ।
गल्र्सतर्फ कास्कीकी दिलासा रानाले जित हात पार्दै उपाधि कब्जा गरिन् । महिला एकलमा पनि रोजीलाई पराजित गर्दै जित निकालेकी दिलासाले यस स्पर्धामा राईलाई १४–२१, २१–१६, २१–१५ ले पराजित गरेकी हुन् । दीपक ब्याडमिन्टन एकेडेमीका अस्मिता खत्री र उपासना बोहरा संयुक्त तेस्रो स्थानमा रहे ।
मास्टर्स युगल ४५ वर्ष माथिको खेलमा पिस फिटनेस सेन्टरका सञ्जय कपाली र अनिल थामसुहाङको जोडीले रिभाईभ लिजर पार्कका शुक्र तामाङ र भीमबहादुर थापाको जोडीलाई २१–१८, २१–१० ले पराजित गर्दै उपाधि उचाले । तेस्रो स्थानमा ललितपुरका मधु गुरुङ र प्रकाश राईको जोडी र पाँचथरका दीपक आङदेम्बे र कुश्माका प्रेम गुरुङको जोडी रहे ।
मास्टर्स युगल ५५ वर्ष माथिको प्रतिस्पर्धामा कास्कीका रामबहादुर गुरुङ र गुल्मीका खगेन्द्र रेग्मीको जोडीले बाजी मारे । उक्त जोडीले पिस फिटनेस सेन्टरका गणेश राई र कर्णबहादुर शाहीको जोडीलाई २१–१३, २१–१३ ले पराजित गरेका हुन् । फिटनेस पार्कका पूर्ण जोशी र उमेश केसी तथा ललितपुरका दिल कन्दङवा र एपीएफका प्रेम श्रेष्ठको जोडी तेस्रो स्थानमा रहे ।
प्रतियोगितामा विजयी खेलाडीहरूले मेडल, ट्रफी र प्रमाण पत्रका साथ शीर्ष ८ वरीयतादेखि बाहेकको पुरुष एकल र महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गरे ।
यस्तै पुरुष युगलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गरे । महिला युगलतर्फका शीर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार, यु–१७ र यु–१३ विधामा शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद १५ हजार, ८ हजार र ४ हजार तथा मास्टर्स ४५ वर्ष र ५५ वर्ष माथिका शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गरे ।















