अमेरिकाको ओहायोमा एक नेपाली भाषी भुटानी पुरुष श्रीमती हत्याको आरोपमा पक्राउ
सहयात्री ढकाल
ओहायो/ अमेरिकाको ओहायोमा एक जना नेपाली भाषी भुटानी पुरुष श्रीमती हत्याको आरोपमा पक्राउ गरेका छन्।
कुयाहोगा फल्समा फेब्रुअरी २१ देखि हराएकी ३३ वर्षीया महिला चन्द्र पौडेल-रिमाल मंगलवार बिहान मृत अवस्थामा फेला परेकी थिइन।
प्रहरी अधिकारीहरूले केन्टको मिडलबरी रोडको १३०० ब्लकमा बिहान ११ बजेतिर शव भेटेको हो।
त्यस पछि प्रहरीले उनका श्रीमान ३३ वर्षीय जेम्स रिमाललाई पक्राउ गरेको हो। रिमाललाई अस्पतालबाट पक्राउ गरिएको जनाइएको छ। उनी विरुद्ध हत्या, शव दुर्व्यवहारलगायतका मुद्दा लगाइएको छ।
पौडेल–रिमालका श्रीमान् जेम्स रिमाल विरुद्ध हत्या, घाँटी थिचेर प्रमाण नष्ट गर्ने, घरेलु हिंसा, झूटो चेतावनी दिने र शव दुव्र्यवहार गरेको आरोपमा प्रहरीले वारेन्ट जारी गरेको क्युयाहोगा फल्स प्रहरीले जनाएको छ ।
कुयाहोगा फल्स प्रहरीले पौडेल-रिमाललाई फेब्रुअरी २१ को बिहान हराएको जानकारी दिएपछि उनको खोजी गरिरहेको थियो।
पहिला श्रीमानले श्रीमती बेपत्ता भनेर प्रहरी बोलाएका थिए। पछि अनुसन्धानको क्रममा रातिको समय दुबै जना घरबाट बाहिर निश्किएको तर श्रीमान मात्र फर्किएको देखिएको जनाइएको छ।
पारिवारिक स्रोतका अनुसार रिमाल दम्पतीका एक छोरा र दुई छोरी छन्। सबै भन्दा सानी छोरी १५ महिनाकी छिन्।
उनीहरु झापा बेलडाकी २ क्याम्पबाट आएका हुन्। २०१५ तिर अमेरिका आएका उनीहरुले एक वर्ष पछि अमेरिकामा नै विवाह गरेका थिए।

















