कोरियामा हुने १४ औँ आइओएफटिसिका लागि अमेरिकामा प्रशिक्षण

पोर्टल्याण्ड/ आगामी अगष्टमा दक्षिण कोरियामा हुने इन्टरनेश्नल ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसि) लागि अमेरिकामा विशेष प्रशिक्षण भएको छ।
अमेरिकाको ओरिगन राज्यको पोर्टल्याण्डमा रहेको युएस वल्डक्लास तेक्वान्दो हलिउडको हेडक्वार्टरमा शनिवार र आइतबार गरी विशेष प्रशिक्षण भएको हो।
युएस वल्डक्लास तेक्वान्दोका सञ्चालक तथा आइओएफटिसिका निर्देशक ग्राण्ड मास्टर दिवाकर महर्जनका अनुसार दुई दिने प्रशिक्षणमा मास्टर नेत्र बहादुर घर्तीमगर र अमुल गोर्खालीले प्रशिक्षण दिएका थिए।
‘कोरिया जान इच्छुक खेलाडीलाई हामीले विशेष प्रशिक्षण दिने पूर्व योजना अनुसार नै यस पटक दुई दिई दिने कार्यक्रम गरेका हौ।’ ग्राण्ड मास्टर महर्जनले भने,’ हामी फेरि पनि यस्तो प्रशिक्षण दिन्छौ।’

मास्टर घर्तीमगर पछिल्लो दश वर्ष देखि युएइमा रहेको बरुडी स्पोर्टस क्लब अबुधाबीमा तेक्वान्दो प्रशिक्षकको रूपमा कार्यरत छन्।
यसै गरी अर्का मास्टर गोर्खाली अमेरिकाको मिचिगनमा रहेको एभरेष्ट तेक्वान्दो स्कुलका निर्देशक तथा प्रशिक्षक हुन्।
पुम्से र स्पाइरिङ्गका साथै स्कोरिङ्गका बारेमा पनि खेलाडीलाई प्रशिक्षित गराइएको मास्टर घर्तीमगरले बताए।

‘दुई दिनको प्रशिक्षण उपलब्धिमूलक नै रह्यो, विशेष गरी तेक्वान्दोमा आएका नयाँ नियम बारेमा हामीले खेलाडीलाई जानकारी गरायौ, यस्तै स्कोरिङका नयाँ सिस्टमको बारेमा पनि हामीले खेलाडीलाई अपडेट गरायौ।’ क्यानडा ओपन र युएस ओपन खेल्न उत्तर अमेरिकाको भ्रमणमा आएका घर्तीमगरले भने।
१४ औँ आइओएफटिसि दक्षिण कोरियाको सियोलमा आगामी अगष्ट २४ तारिखमा हुँदै छ। च्याम्पियनसिपमा विश्वका विभिन्न मूलका खेलाडीले भाग लिने अपेक्षा गरिएको छ।

सन् २००० मा काठमाडौँबाट सुरु भएको च्याम्पियनसिप त्यस पछि हरेक दुई वर्षमा विभिन्न मुलुकमा हुँदै आएको छ।
एक पटक अमेरिका र अर्को पटक अमेरिका बाहिर आयोजना हुने च्याम्पियनसिपको १३ औँ संस्करण अमेरिकाको मिचिगनमा सम्पन्न भएको थियो।
च्याम्पियनसिप नेपाल र अमेरिका बाहेक भारत, हङ्कङ्ग र बेलायतमा पनि सम्पन्न भइसकेको छ।
आइओएफटिसिको मुख्यालय अमेरिकाको ओरिगन राज्यको पोर्टल्यान्डमा छ।
यसै बिच दुई दिने प्रशिक्षणको अन्तिम दिन आइतबार दुई प्रशिक्षक मास्टर घर्तीमगर र गोर्खालीलाई आइओएफटिसि हेडक्वाटरको तर्फबाट सम्मान गरिएको छ।
आइओएफटिसिका महासचिव करेन ब्ल्याकलेज र निर्देशक ग्राण्डमास्टर महर्जनले संयुक्त रूपमा प्रदान गरेका थिए।