कांग्रेस महासमिति बैठकमा एनआरएन नागरिकता खारेज गर्न माग
ललितपुर । नेपाली कांग्रेसको ललितपुर गोदावरीमा जारी महासमिति बैठकमा गैर आवासीय नेपाली नागरिकता खारेज गर्नु पर्ने माग उठेको छ । लामोसमय अमेरिका बसेका महासमिति सदस्य हरिबोल भण्डारीले महासमितिको आजको बैठकमा एनआरएन नागरिकता खारेज गर्न माग गरेका हुन् । वर्तमान सरकारले एनआरएनलाई नागरिकता दिने कुरा ठूलो उपलव्धि भएको भन्दै प्रचार गरिरहेका बेला सत्तारुढ घटककै मुख्य दल नेपाली कांग्रेसका महासमिति सदस्यबाट यस्तो धारणा आउनुलाई विदेशमा बस्ने नेपालीहरुले बढो चासो दिएका छन् ।
एनआरएनएको ११ औं विश्व सम्मेलनको उद्घाटनका दिन अक्टोबर १७ मा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा तत्कालिन अध्यक्षहरु कुल आचार्य र डा. बद्री केसीलाई नागरिकता प्रदान गर्दै यो कार्यको सुरुआत गरेका थिए । अहिलेसम्म देशभरबाट एनआरएन नागरिकता झण्डै १५ सय बढी जारी भएका छन् । तर, एनआरएन नागरिकता लिएकाहरु नै अहिले झन्झट्मा परेको गुनासो बढ्न पनि थालेको छ । एनआरएन नागकिता लिए पनि नेपाली नै भइयो भन्ने मानसिकता हावी हुँदा अहिले अध्यागमनमा ओभर स्टे हुनु परेको, घर जग्गा पासको लिखतमा पनि काम नगर्ने अवस्था छ । सरकारले एनआरएन नागरिकतलाई सरलीकृत गर्नका लागि कानुन आयोगलाई ऐन बनाउने जिम्मा दिएको बताइ रहेका बेला कांग्रेस महासमिति सदस्य भण्डारीले भने ‘आफ्नै देशमा आउँदा भिसा लिनु पर्ने नागरिकता के काम? त्यस्तो नागरिकता खारेज गर्न अपिल गर्दछु ।’ देशको समृद्धिमा एनआरएनएको भूमिका महत्वपूर्ण हुने भएकाले दोहोरो नागरिकताको विकल्प हुन नसक्ने पनि उनको भनाई थियो ।
यसैगरी, भण्डारीले नेपाली जनसम्पर्क समितिहरुको अधिवेशन नभएको विषयमा पनि प्रश्न उठाएका थिए । उनले भने ‘जनसम्पर्क समितिको अधिवेशन समयमा नहुँदा साथीहरू विभाजित मानसिकतामा छन्, तत्काल अधिवेशन गर्न र अन्तर्राष्ट्रिय सञ्जाल बनाउन माग गर्दछु ।’
लामोसमयदेखि जनसम्पर्क समिति अमेरिकाको नेतृत्व गरिरहेका तर अधिवेशन गराउन असफल पूर्व आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले जनसम्पर्क समितिहरुले नेपालको विकास र आपत विपतमा ठूलो सहयोग गरेको बताए । उनले कांग्रेसको विधान अनुसार महाधिवेशन प्रतिनिधि सबैले चुनाव लड्न पाउनु पर्नेमा जोड पनि दिएका छन् । बाध्यता र विवसताले विदेशमा रहे पनि पार्टी र देशप्रति जिम्मेवारी पूरा गर्न पछि नपर्ने पनि उल्लेख गरे । उनले एनआरएन नागरिकता लिएकाहरुले पनि कांग्रेसको क्रियाशील सदस्यता पाउनु पर्नेमा जोड दिए ।
जनसम्पर्क समिति बेल्जियमबाट प्रतिनिधित्व गर्दै सीता सापकोटाले विदेशमा रहेका नेपालीहरुलाई पनि यही देशमा राजनीतिक अधिकार दिनुपर्नेमा जोड दिइन् ।
स्पेनबाट महासमितिमा भाग लिन आएका चिन्तामणि सापकोटाले पनि गैर–आवासीय नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । विदेशमा रहेका नेपालीहरुको समस्या सुल्झाउनका लागि त्यहाँ रहेका राजदूतावास र कन्सुलर कार्यालयलाई पर्याप्त अधिकार दिन सापकोटाले माग गरे ।
यसैगरी जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले विगतमा प्रदेशसरह मान्यता पाएका जनसम्पर्क समितिलाई यस पटक अधिकार कटौती गरिएको बताउँदै अबदेखि प्रदेश सरहको अधिकार दिन माग गरे । यसैगरी विधानलाई एकरुपता दिन माग गरे ।
क्यानेडियन नागरिक भएर पनि विधान विपरित जनसम्पर्क समिति क्यानडाको अध्यक्ष तथा महासमिति सदस्य वुद्धिप्रकाश वलीले जनसम्पर्क समितिहरुबाट केन्द्रीय सदस्य चुनिन पाउनु पर्नेमा जोड दिएका थिए । सोमबार उद्घाटन भएको महासमिति बैठकमा मंगलबार प्रस्तावहरु पेश भएका थिए भने बुधबार समूहगत छलफल भएको हो । महासमितिको बैठक विहीबार समापन हुने छ ।