क्यानडा र बेलायतका नागरिक कांग्रेस महासमिति सदस्य !

पेन्सिल्भेनिया/ नेपालको पुरानो र लोकतान्त्रिक भनिने नेपाली कांग्रेसले फेरि पनि नेपालको संविधान र पार्टीको विधानको ठाडो उल्लङ्घन गरेको छ।
सोमबार देखि ललितपुरको गोदावरीमा सुरु भएको कांग्रेसको महासमिति बैठकमा कम्तीमा दुई जना विदेशी नागरिकले सहभागिता जनाएको प्रमाण समाज टाइम्सले प्राप्त गरेको छ।
नेपालको संविधान र कांग्रेसको विधानले विदेश नागरिकलाई पार्टी सदस्यता प्रदान गर्ने निषेध गरेको छ ।
तर बेलायत र क्यानडाको नागरिकता लिइसकेका दुई जनाले महासमिति सदस्यको रूपमा बैठकमा भाग लिएका छन्।
समाज टाइम्सले प्राप्त प्रमाण अनुसार क्यानडाका नागरिक बुद्धि प्रसाद ओली र बेलायतका नागरिक युवराज गुरुङ अहिले महासमिति सदस्यको रूपमा बैठकमा सहभागी छन्।

यी दुवैले कांग्रेसको पछिल्लो महाधिवेशनमा पनि सहभागिता जनाएका थिए। ओलीले सन् २०१८ सालमा जारी भएको क्यानडाको पासपोर्ट बोकेका छन्। यस्तै गुरुङले सन् २०१२ मा नै बेलायतको पासपोर्ट लिएको देखिन्छ।
ओलीले आफ्नो फेसबुकमा कांग्रेस महासमिति बैठकका लागि लिएको परिचय पत्र र अन्य तस्वीर सामाजिक सञ्चालमा राखेका छन्।


जानकारहरूका अनुसार ओली र गुरुङ पार्टी सभापति शेर बहादुर देउवाका अत्यन्त निकट व्यक्ति हुन्।
यी दुवै जना आ आफ्नो देशमा अत्यन्त विवादित छन्। ओली नौ वर्ष देखि निरन्तर नेपाली जनसम्पर्क समिति क्यानडाका अध्यक्ष छन्। उनीले अध्यक्ष भएपछि अधिवेशन नै गराएका छैनन्।
यस्तै गुरुङ पार्टीको पछिल्लो महाधिवेशनका समयमा अध्यक्ष भएका थिए।
पार्टीको पछिल्लो महाधिवेशनमा अमेरिकाको नागरिकता लिएका विश्व बास्तोलाले सहभागिता जनाएका थिए। त्यस सम्बन्धी मुद्दा अदालतमा विचराधिन छ।
अमेरिकाबाट तीन जना अनुपस्थित ?
यसै बिच कांग्रेस महासमिति बैठकका लागि नेपाली जनसम्पर्क समिति अमेरिकाबाट छनौट भएका तीन जना बैठक स्थलमा नपुगेको जनाइएको छ।
कांग्रेस पार्टी र नेपाली जनसम्पर्क समिति अमेरिकाको विधानमै नभएको व्यवस्थाबाट ६ जना निर्वाचित भएको भनिएको थियो।
६ जना मध्ये उपसभापति धनञ्जय नरसिंह केसी, महामन्त्री मुनीन्द्र नेम्वाङ र विद्या सागर योञ्जन काठमाडौँ नपुगेको जनाइको छ।
महामन्त्री नेम्वाङ निकटका अनुसार आइतबार सम्म उनले साथीभाइ सँग सम्पर्क नै गरेका थिए।
अमेरिकाको नम्वरमा नै सम्पर्कमा रहेका नेम्वाङले आफू काठमाडौँमा पुगेको जनाएका थिए। तर नेपाली जनसम्पर्क समिति अमेरिका प्रवक्ता भनिने गौतम दाहालले सामाजिक सञ्जालमा पोस्ट गरेको फोटोमा उनी सहित अध्यक्ष आनन्द विष्ट र अर्का सदस्य भरत अर्यालको मात्र फोटो छ।
केसी र योञ्जन समाज टाइम्सको सम्पर्कमा आउन चाहेनन्। काठमाडौैबाट समाज टाइम्सको सम्पर्कमा आएका अर्यालले आफूले पनि केसी, नेम्वाङ र योञ्जनलाई काठमाडौँमा नभेटेको बताए।