बागमती गोल्ड कपको सेमिफाइनल समीकरण पुरा
काठमाडौं । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौँ संस्करणको बागमती गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।
आइतबार अन्तिम क्वाटर फाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो ।
आइतबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको अन्तिम क्वाटर फाइनल खेलमा आयोजक बागमती खेलकुद विकास समितिलाई ४–० गोलले हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
आर्मीको जीतमा जिलेस्पी जङ्ग कार्कीले खेलको पहिलो हाफको २६ औँ मिनेटमा, रास बुढा मगरले दोस्रो हाफको ८ औँ, फत्तेमान घलले १८ औँ मिनेटमा र कमल थापाले ३० औँ मिनेटमा समान एक–एक गोल गरे ।
खेलको म्यान अफ द म्याच आर्मीका फत्तेमान घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । सेमिफाइनल प्रवेश गरेको आर्मीले अब फाइनल प्रवेशका लागि मङ्गलवार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि एपीएफसहित मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटी सेमिफाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा सोमबार मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिमबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
















