कांग्रेसले पनि जनसम्पर्क समितिको अन्तर्राष्ट्रिय संरचना बनाउने
काठमाडौँ । नेपाली कांग्रेसले जनसम्पर्क समितिको अन्तर्राष्ट्रिय संरचना बनाउने प्रस्ताव गरिएको छ।
सोमवार देखि काठमाडौँमा शुरु हुने पार्टीको महासमिति बैठकमा पेश गर्ने महामन्त्री गगन थापाको प्रतिवेदनमा नेपाली जनसम्पर्क समिति अन्तर्राष्ट्रिय संरचना बनाउने विषय समावेश गरिएको छ।
महासमिति बैठक अगाडि महामन्त्री थापाले पार्टीको केन्द्रीय समितिको शुक्रवारको बैठकमा सो प्रस्ताव पेश गरेका हुन्।
समाज टाइम्सले प्राप्त गरेको महामन्त्री थापाको प्रस्तावमा नेपाली जनसम्पर्क समिति नभएका देशहरूमा संगठन विस्तार गर्ने र अन्तर्राष्ट्रिय संरचना बनाउने योजना उल्लेख छ।
कांग्रेसका संस्थापक नेता पूर्व पार्टी सभापति तथा प्रधानमन्त्री बिपी कोइरालाले नेपाली जनसम्पर्क समितिको अवधारणा ल्याएका हुन्।
यो संस्था अहिले कतिपय देशमा शिथिल छ भने केही देशले लामो समय देखि अधिवेशन नै गरेका छैनन्। नेपाली जनसम्पर्क समिति अमेरिकामा दश वर्ष यता अधिवेशन नै हुन सकेको छैन। जनसम्पर्क समिति चलायमान हुन नसकिरहेको बेला महामन्त्री थापाले आक्रामक योजना ल्याएका हुन्।
जबकि अन्य पार्टीहरूले यस्तो संरचना यस अगाडि नै बनाइसकेका छन्।
कांग्रेस नीति अधिवेशन मानिने महासमिति बैठकमा थापाले पेश गर्न तयार गरिएको प्रतिवेदनमा प्रचलित कानुन अनुसार नेपाली नागरिक मात्र पार्टीको क्रियाशील सदस्य बन्नको लागि योग्य मानिने भएकाले त्यसै अनुसार गर्नु पर्ने औलाएका छन्।
उनले जनसम्पर्क समितिमा, गैर आवासीय वा नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएका व्यक्ति पार्टीको संगठनमा आबद्धता हुने कुरामा ठुलो अलमल सिर्जना भएको उल्लेख गर्दै अब यस्तै अलमलको निरन्तरता वा बदल्ने भन्ने प्रश्न पनि उठाएका छन् ।
महामन्त्री थापाले छलफलका लागि गरेको प्रस्तावमा प्रत्येक जनसम्पर्क समितिलाई संस्थागत आबद्धता प्रदान गर्ने, तत् तत् जनसम्पर्क समितिले आफैँ सदस्यता प्रदान गर्न सक्ने व्यवस्था गर्ने व्यवस्था गर्नु पर्ने उल्लेख गरेका छन्।
यस्तै जनसम्पर्क समितिमा रुचि भएका गैर आवासीय नेपाली सबै सदस्य हुन पाउने व्यवस्था गर्ने, तर पार्टीको महाधिवेशनमा सहभागिता नेपालको प्रचलित कानुन अनुसार हुने कुरा उल्लेख गरेका छन् ।















