‘कार्य समिति छलेर फेसबुक म्यासेन्जरमा आइटी कोअडिनेटरको शपथ’

पेन्सिल्भेनिया/ कार्यसमितिका बहुमत सदस्यको असहमति हुँदा हुँदै पनि गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडेले बुधवार राति आफूले नियुक्त गरेको आइटी कोअडिनेटरको फेसबुक म्यासेन्जरबाट शपथ गराएका छन्।
अध्यक्ष बन्जाडे र महासचिव राम हरि अधिकारीले एकै पदमा फरक फरक व्यक्तिलाई नियुक्ति दिएका थिए। अध्यक्षले आफूले नियुक्त गरेका व्यक्तिलाई शपथ गराउन महासचिवलाई निर्देशन दिएका थिए। तर महासचिवले कार्यसमितिको परामर्शमा पछि मात्र त्यसबारेमा टुङ्गो लगाउनु पर्ने अडान राखेका थिए।
यस सम्बन्धमा समाज टाइम्समा समाचार प्रकाशित भएको करिब दुई घण्टा पछि राति दश बजे केही सीमित व्यक्तिको रोहबरमा सचिव दीपक सापकोटाले शपथ गराएका हुन्।
अघिल्लो दिन सम्म आफू प्रक्रिया भन्दा बाहिर नजाने भन्ने अडान लिएका सापकोटा २४ घण्टामा फेरिँदै विवादास्पद नियुक्तिमा शपथ गराउन तयार भएका हुन्। ‘महासचिवको अनुपस्थितिमा मैले जिम्मेवारी पुरा गरे’ समाज टाइम्स सँग सापकोटाले भने।
‘भोलीका दिनमा कमजोरी नदोहोर्याउने सर्तमा शपथ गराएको हुँ।’ सापकोटाले भने,’कार्यसमितिमा दुई पटक छलफल भएको हो,विवाद आए पछि वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीले सबैलाई मिलाउन कुरा गर्न जिम्मा दिएको हो उहाँले सबै कुरा मिल्यो भने पछि म तयार भएको हुँ।’
सापकोटाले महासचिव अधिकारीलाई यो स्थिति आउन सक्छ भनेर आफूले हिजै पनि सतर्क गराएको दाबी गरे।
‘महासचिवलाई यो विवादको बारेमा छलफल गर्न तत्काल बैठक बोलाउनु भनेको हो, प्रयास नै भएन, हलो अड्काएर भएन, संस्था अगाडी बढाउन पर्यो नि, उहाँ (महासचिव)ले बैठक बोलाउनै मान्नु भएन।’
सचिव सापकोटाका अनुसार शपथमा उनी बाहेक कार्यसमितिबाट जम्मा तीन जना उपस्थित भएका थिए।
अध्यक्ष बन्जाडे, वरिष्ठ उपाध्यक्ष उप्रेती र प्रवक्ता डा.राजन पन्त शपथमा उपस्थित रहे। यस्तै क्षेत्रीय संयोजक वेद बस्नेत, डिआरसीहरु सञ्जीव श्रेष्ठ र पूर्ण बस्नेत शपथ कार्यक्रममा थिए।
यो शपथले मान्यता पाउदैन: महासचिव अधिकारी
एनआरएनए अमेरिकाका महासचिव रामहरि अधिकारीले बुधवार भएको आइटी कोअडिनेटरको शपथले मान्यता नपाउने दाबी गरे।
‘यसले मान्यता पाउँदैन। संस्थाको कुन विधानले गरेको हो? कार्यसमितिलाई थाहै छैन, यसले वैधानिकता पाउँदैन।’ समाज टाइम्स सँगको कुराकानीमा अधिकारीले भने।
उनले अब यसको छिनोफानो कार्यसमिति बैठकबाटै हुने बताए।
‘विवाद कार्यसमितिबाट टुङ्गाऊ भनेको हो, बैठक बोलाऊ भनेर कोषाध्यक्षले निवेदन नै दिएका छन्।’ उनले भने, ‘विधानतः यस्तो अवस्थामा दश दिन भित्र बैठक बोलाउन पर्छ, अब त्यही बैठकले निर्णय गर्छ।’
कोषाध्यक्ष सरोज सिग्देलको पत्र

महासचिव अधिकारीले अध्यक्षलाई मनलाग्दी गर्ने भन्ने व्यवस्था विधानमा नभएको बताए। ‘ दुई चार जनाको संस्था त पक्कै होइन होला। कार्यसमिति सँग सल्लाह नगर्ने, विधान मिच्न कहाँ पाइन्छ, अहिले सम्मको कुनै पनि बैठकमा आइटी कोअडिनेटरको बारेमा छलफल भएको छैन अबको बैठकमा छलफल पनि हुन्छ निर्णय पनि।’