एनआरएनए अमेरिका: अध्यक्षको निर्देशन महासचिवले टेरेनन्

पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अध्यक्ष डा. अर्जुन बन्जाडेको पछिल्लो एक निर्देशनलाई महासचिव रामहरि अधिकारीले ठाडै अस्वीकार गरिदिएका छन्।
अध्यक्षले महासचिवलाई आइटी कोअडिनेटरमा नियुक्त रवीन्द्र उप्रेतीलाई शपथ खुलाउन भनेका थिए। महासचिवले अध्यक्षको निर्देशन कार्यसमितिको सल्लाह र अनुमोदन विपरीत भएकोले कार्यान्वयन गर्न नसकिने जवाफ फर्काएका छन्।
आइटी कोअडिनेटर नियुक्तिको विषयलाई लिएर बिचको विवाद झन् चर्किएको छ। अध्यक्ष र महासचिवले एकै पदमा दुई फरक व्यक्तिलाई नियुक्ति गरेका छन्।
अध्यक्ष बन्जाडे जनवरी २५ तारिखमा रवीन्द्र उप्रेतीलाई आइटी कोअडिनेटर नियुक्ति गरेको इमेल पठाएको केही समयमा नै महासचिव अधिकारीले अग्नि चौलागाईलाई सोही पदमा नियुक्त गरेको पत्र पठाएका थिए।
‘गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्को उपनियम-२०१० धारा ६ (४६) (१६ औँ संशोधनसहित) बमोजिम २०२३-२०२५ कार्यकालका लागि आइटी संयोजकको रूपमा तपाईँको आधिकारिक नियुक्ति घोषणा गर्न पाउँदा म हर्षित छु।’ उप्रेतीलाई दिइएको नियुक्ति पत्रमा अध्यक्ष बन्जाडेले खेलेका छन्।
‘तपाईँको आधिकारिक नियुक्तिको खबर सुनाउन पाउँदा खुसी छु। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्-अमेरिकाको विनियम-२०१० (१६औँ संशोधन, २०२२) बमोजिम २०२३-२०२५ को कार्यकालका लागि आइटी कोअडिनेटरको रूपमा ।’ महासचिवले चौलागाईलाई पठाएको पत्रमा भनेका छन्।
एउटै पदमा फरक फरक व्यक्तिलाई अध्यक्ष बन्जाडे र महासचिव अधिकारीले पठाएको नियुक्ति पत्र

उप्रेती गत निर्वाचनमा बन्जाडेलाई सहयोग गरेका व्यक्ति हुन्। सुरुमा कोषाध्यक्षको उम्मेदवार रहेका उप्रेतीले अन्तमा नाम फिर्ता लिएका थिए।
बन्जाडे जिताऊ चुनावी अभियानका एक सदस्यका अनुसार उप्रेतीलाई ‘आइटी कोअडिनेटर’ बनाउने बचन सोही समयमा दिइएको थियो। सोही कारण उप्रेतीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।
टेक्सस च्याप्टरका पूर्व अध्यक्ष सोफिन थापालाई ‘प्रवक्ता’ बनाउने चुनाव अगाडिको सहमति पालना नगरेको भनेर आफ्नै समूहबाट आलोचना खेपेका बन्जाडे यस पटक जसरी पनि उप्रेतीलाई आइटी कोअडिनेटर बनाउन लागेको बताइएको छ।
चौलागाई यस अगाडि पूर्व अध्यक्ष बुद्धि सुवेदीको समयमा तत्कालीन महासचिव अञ्जन चौलागाईको सहयोगीका रूपमा सचिवालयमा काम गरेका व्यक्ति हुन्। उनी अहिले डा. यादव पण्डितले नेतृत्व गरेको ‘जय नेपाल फाउन्डेसन’ का सचिव छन्।
एक पदमा अध्यक्ष र महासचिवले फरक फरक व्यक्तिको नियुक्तिले अन्यौलता भइरहेको समयमा मङ्गलवार अध्यक्ष बन्जाडेले आइटीकोअडिनेटरको रूपमा उप्रेतीलाई शपथ गराउन भन्दै पत्र पठाएका थिए।
अध्यक्ष बन्जाडेले महासचिवलाई पठाएको पत्र

अध्यक्षको निर्देशन अनुसारको काम आफूले गर्न नसक्ने भन्दै महासचिव अधिकारीले फेरि अडान लिएका छन्। उनले एक कदम अगाडि बढेर कार्यसमितिका बहुमत सदस्यको समर्थनमा आफ्नो पक्षमा रहेको देखाएका छन्।
महासचिव अधिकारीले पठाएको पत्र

महासचिवको पत्र पछि अध्यक्ष बन्जाडेले सचिव दीपक सापकोटा मार्फत शपथ अगाडि बढाउन खोजे पनि त्यो सफल नभएको बताइएको छ।
‘अध्यक्ष ज्यूले भन्नु भएको थियो तर मैले म प्रक्रिया भन्दा बाहिर जान्न भनिदिए।’ समाज टाइम्स सँगको कुराकानीमा सचिव सापकोटाले भने।
महासचिव अधिकारीले अध्यक्ष बन्जाडेले आफ्नो क्षेत्राधिकार मिचेको आरोप लगाए। ‘विभाग प्रमुखले कमिटी बनाउने र त्यसलाई अध्यक्षले प्रमाणित गर्ने हो।’ अधिकारीले समाज टाइम्स सँग भने, ‘महासचिवको डिपार्टमेन्टमा अध्यक्षले अनावश्यक हस्तक्षेप र जबरजस्ती गर्न भएन, मैले काम गर्ने हो।’
उनले अब यसको छिनोफानो कार्यसमितिबाट हुने बताए। ‘कुरो नमिले पछि त कार्यसमितिले नै हो नि निर्णय गर्ने बहुमत साथीहरूको कुरा त मान्नु पर्यो नि।’
बन्जाडे निकटका अनुसार आइटी कोअडिनेटर पदलाई उनले प्रतिष्ठाको विषय बनाएका छन्। ‘कार्यसमितिका बहुमत साथीहरूको भनाई यस्तो छ भनेर मैले जानकारी गराई सके उहाँले अब कुरा बुझ्नु हुन्छ होला।’ अधिकारीले भने,’ अझै मान्नु भएन भने अर्को विकल्प खोजिन्छ।’
परिवर्तनको नारा लगाएर चुनाव जितेका अध्यक्ष बन्जाडे पछिल्लो समय आफ्नै सहकर्मी बिचमा निकै आलोचित हुँदै आएका छन्। उनलाई काम गर्न नसकेको आरोप लाग्दै आएको छ।
अहिले सम्म कार्यसमितिको पूर्ण बैठक राख्न नसकेको, प्रमुख संरक्षक, संरक्षकको विषयमा भएको भनिएको निर्णय कार्यान्वयन गर्न नसकेको लगायत आरोप खेपेका बन्जाडेले एनआरएनए आइसीसी (डा. बद्री केसी समूह)मा आफ्नी श्रीमतीलाई सदस्य बनाएर आलोचित छन्।