इप्पानले जलविद्युत मेला गर्दै
काठमाडौं । मुलुकको जलविद्युत क्षेत्रको अवस्था बारे जानकारी दिन चौथो संस्करणको मेला आयोजना गरिने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ हुने भएको हो ।
राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै मेला आगामी वैशाख १२, १३ र १४ गते हुने जानकारी दिइएको हो ।
‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको एक्स्पो सन् २०१७, २०१८ र सन् २०२२ पछिको चौथो भएको महासचिव बलराम खतिवडाले जानकारी दिएका छन् ।
नेपालको विद्युत १० वर्षमा १० हजार मेगावाट किन्न भारतले सहमति गरेको छ । यसका लागि दीर्घकालीन निर्यात सम्झौता भइसकेको छ । सन् २०३५ भित्र १५ हजार मेगावाट विद्युत निर्यात गर्ने उद्देश्यसहितको २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने मार्गचित्र ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले निर्माण गरिसकेको सन्दर्भमा यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने अपेक्षा इप्पानको छ ।
नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ज्ञान र सूचना आदानप्रदानका लागि एक्स्पो उचित गन्तव्य हुने महासचिव खतिवडाले बताए ।
एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया गरिने तालिका तय गरिएको जनाइएको छ ।
चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका ऊर्जासम्बद्ध कम्पनी तथा सरोकारवालाहरु एक्स्पोमा सहभागी हुनेछन् ।
जलविद्युतका लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो राख्ने सबैका लागि जानकारीको केन्द्र बन्ने एक्स्पोलाई ३ दिनको अवधिमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
एक्स्पोमा हाइड्रोपावर निर्माता, आवश्यक उपकरण उत्पादक, आपूर्तिकर्ता, डिजाइनर, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्था, सिमेन्ट, डण्डी लगायतका २०० भन्दा बढी स्टल रहने छन् । ती मध्ये झण्डै ५० प्रतिशत विदेशी स्टल हुने छन् ।
हाइड्रोपावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरबाट विकास गरिएका वस्तु तथा सेवाको प्रतिष्पर्धा एक्स्पोको आकर्षण बन्ने जनाइएको छ ।















