‘नेपाल भाषा र संस्कृति दोस्रो पुस्तामा लैजान विशेष जोड रहने छ’: डा. शाक्य

न्यु योर्क / नेवा:नख: न्यु योर्कका नवनिर्वाचित अध्यक्ष डा. नरेशमान शाक्यले नेपाल भाषा र संस्कृति दोस्रो पुस्तामा लैजान आफूले विशेष जोड दिने बताएका छन्।
पाँचौँ साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भए पछि समाज टाइम्स सँगको कुराकानीमा शाक्यले आफूले उद्देश्य प्राप्तिका लागि विश्वभर रहेका संस्थासँग सहकार्य गर्ने बताए।
‘नेपाल भाषा र संस्कृति सम्बन्धमा १७ वटा संस्था छन्, उहाँहरू सँग सहकार्य गरेर अगाडि बढ्ने हो।’ शाक्यले भने,’अबको जमाना भनेको डिजिटलाइजेशनको हो विश्वभर भर्चुअल नेटवर्क बनाउँदै सबै ठाउँमा विज्ञहरू सँग राय लिएर काम गर्छौ।’
वर्ड नेवा अर्गनाइजेशनका सदस्य समेत रहेका शाक्यले आफ्नो टिमले नयाँ पुस्तालाई शिक्षामा बढी समय खर्चने बताए। ‘संस्कृति गतिविधि त भइनै रहेका छन् तर तीन के हुन भन्ने शिक्षा नयाँ पुस्तालाई दिनु पर्छ।’ शाक्यले भने।
नेपाल संवत् ११४४ प्वहेलागाः अष्टमी,शनिवार (फेब्रुअरी तीन तारिख) भर्चुअल माध्यमबाट भएको साधारण सभाले शाक्यको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको हो।
आठ जना महिला रहेको कार्यसमितिको प्रथम उपाध्यक्षमा श्रुति अमात्यलाई निर्वाचित गरेको छ।
यस्तै द्वितीय उपाध्यक्षमा महेन्द्र कुमार बज्राचार्य, महासचिवमा तुलसी नारायण चित्रकार, सचिवमा अनित श्रेष्ठ, कोषाध्यक्षमा सलोनी वन्त श्रेष्ठ र सह-कोषाध्यक्षमा मेनी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
कार्यसमितिको सदस्यहरूमा दीपक कुमार प्रधान, नम्रता प्रधान, राधिका श्रेष्ठ, किरण कुमार रञ्जित, शोभना शाक्य, उजिला प्रधान, राजीव बाटाजु र सबिना शाक्य निर्विरोध निर्वाचित भए ।
साधारण सभाले पूर्व अध्यक्षहरू बिष्णु मान प्रधान र महेन्द्र वीर बज्राचार्यलाई सल्लाहकारमा मनोनीत गरेको छ ।
यस अगाडि नेवा: नख: न्यु योर्कका अध्यक्ष महेन्द्र वीर बज्राचार्य सभापतित्वमा सम्पन्न साधारण सभाको महासचिव तुलसी नारायण चित्रकारले सञ्चालन गरेका थिए।
साधारण सभामा प्रथम उपाध्यक्ष डा. नरेश मान शाक्यले स्वागत गरेका थिए । प्रमुख अतिथि पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णु मान प्रधानले नेवा: नख: न्यु योर्क स्थापना, यसको महत्त्व र इतिहासको बारेमा प्रकाश पारेका थिए । उनले “टीमवर्कले सपनाको काम बनाउँछ” भन्दै सबै सदस्यहरू मिलेर संस्थालाई अझ राम्रो सँग अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए।
द्वितीय उपाध्यक्ष श्रुति अमात्यले सबै मिलेर काम गरी नयाँ पुस्तालाई समेटेर नेवा: संस्कार र संस्कृति सिकाउँदै लानु पर्नेमा बताइन । उनले सदस्यहरूलाई लाभान्वित हुने खालको कार्यक्रम ल्याउनु पर्ने कुरामा जोड दिइन।
कार्यक्रमको सुरुमै उपस्थित सदस्यहरूको सहभागिताको दर्ता कार्य, सचिव अनित श्रेष्ठ र सह-कोषाध्यक्ष मेनी श्रेष्ठले गरेका थिए ।
खुल्ला सत्रमा, महासचिव तुलसी नारायण चित्रकारले संस्थाको दुई वर्षको कार्य प्रगति विवरण तथा संस्थाले भए गरेका गतिविधिहरू प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका थिए । पेस गरिएको सो प्रतिवेदन सभाले सर्वसम्मत पारित गर्यो ।
सभामा, प्रथम उपाध्यक्ष डा. नरेश मान शाक्यका दिवङ्गत पिता श्री कर्ण मान शाक्यको सम्झनामा एक मिनेट मौन धारणा गरी उनको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
बन्द सत्रमा, नेवा: नख: न्यु योर्कको चौथो निर्वाचन, निर्वाचन आयुक्त विष्णु मान प्रधानले विधिपूर्वक सम्पन्न गरेका थिए ।
अध्यक्ष महेन्द्र वीर बज्राचार्यले नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै पदभार हस्तान्तरण गरेका थिए। उनले सभा सम्पन्न गर्न सहयोग गरेकोमा उपस्थित सबैलाई धन्यवाद दिए।
बज्राचार्यले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।
नेवा: परम्परा, कला र संस्कृतिको संरक्षण, प्रवर्द्धन र नयाँ पीढीमा पुस्तान्तरणका लागि सन २०११ मा नेवा: नख: न्यु योर्क स्थापना गरिएको हो । यो संस्थाले समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।