भ्युअर्स बढाउन नैतिकताभन्दा बाहिर गएर पत्रकारिता गर्ने प्रवृत्ति बढ्यो’
काठमाडौँ । नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले दर्शक बढाउनको लागि नैतिकताभन्दा बाहिर गएर पत्रकारिता गर्ने प्रवृत्ति बढेको बताएका छन् ।
मङ्गलवार काठमाडौँमा आयोजित अनलाइनमा बाल संरक्षण सम्बन्धमा मिडियाको भूमिका राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बालबालिका, महिला या सुकै विषयमा पनि नैतिकताभन्दा बाहिर गएर हेडलाइन राख्ने, राख्नै नमिल्ने फोटो राख्ने भन्दै दर्शक बढाउन नैतिकताभन्दा बाहिर गएर पत्रकारिता गर्ने प्रवृत्ति बढेको बस्नेतले बताए ।
‘पत्रकारितामा आचारसंहिता पालना होइन, कसरी हुन्छ उल्लङ्घन गर्नेतर्फ ध्यान केन्द्रित गरी भ्युअर्स बढाउन जुनसुकै विषयमा पनि नैतिकताभन्दाबाहिर गएर हेडलाइन राख्ने, तस्बिर राख्ने अर्काको फेटो राख्ने, राख्नै नमिल्ने फोटो राख्ने गरिएको छ’ उनले भने, ‘यसबारे मिडिया आफैँ गम्भीर हुनुपर्छ, हामीले भनेर मात्रै सच्चिने होइन ।’
सञ्चारमाध्यम प्रभावकारी हुन सक्यो भने समाजमा रहेको बालबालिका, महिला, पिछडिएकाहरूको एजेन्डा राम्रोसँग उठाउन सके मात्र देश समृद्ध हुने उनको भनाई छ ।
‘एजेन्डा राम्रोसँग उठाउन सकियो, सञ्चार माध्यम प्रभावकारी हुन सक्यो भने जनताको, समाजको एजेन्डा राम्रोसँग उठाउन सकिन्छ’ बस्नेतले भने, ‘बालबालिका, महिला, पिछडिएकहरुको विषयलाई उठाउन सकेमात्र देश समृद्ध हुन सक्छ ।’















