नेपाल भ्रमण गर्न अमेरिकी जनप्रतिनिधिको आग्रह
डालस, टेक्सस। अमेरिकी जनप्रतिनिधिहरूले धेरै भन्दा धेरै संख्यामा नेपाल भ्रमण गर्न आग्रह गरेका छन्।
टेक्सस राज्यको डालस नजिकै रहेको युलेस सिटीमा आइतबार आयोजित “भिजिट नेपाल” कार्यक्रममा उनीहरूले यस्तो आग्रह गरेका हुन्।
युलेस सिटीका काउन्सिल सदस्य टिका पौडेलको सक्रियतामा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत टेक्सस च्याप्टरले कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमको संयोजन एनआरएनए अमेरिकाको टुरिजम एन्ड ट्रेड डिपार्टमेन्टले गरेको थियो।

कार्यक्रमको उद्घाटन टेक्सस प्रतिनिधिसभाका सदस्य सलमान भोजानी, युलेस सिटीकी मेयर लिन्डा मार्टिन, बेड्फ़ोर्ड सिटीका मेयर डन कोगन, युलेस सिटी काउन्सिल टिका पौडेल, भारतीय समाज डीएफडब्लुकि अध्यक्ष सुष्मा मल्होत्राले संयुक्त रूपमा गरेका थिए।

उनीहरूले सबैलाई नेपाल भ्रमण गर्न आग्रह गरे। टेक्सस राज्य सभा डेलिगेट पाकिस्तानी मूलका सलमान भोजानीले हालसालै आफूले नेपाल भ्रमण गरेको र त्यस अवसरमा सगरमाथाको आधार शिविरको यात्राको बारेमा रोचक अनुभव सुनाएका थिए।
युलेस सिटी काउन्सिल टिका पौडेलले सगरमाथाको साथै नेपालका हरेक ठाउँ घुम्न लायक भएकोले नेपाल भ्रमणको मिति तय गर्न अनुरोध गरे।
भारतीय समाज डिएफडब्लुकी अध्यक्ष सुष्मा मल्होत्राले नेपाली र भारतीयहरूको धेरै कुरामा समानता रहेको उल्लेख गर्दै आफू नेपाल जाने तयारी रहेको जनाइन।

नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले पनि नेपाल भ्रमण गर्न सबैलाई अनुरोध गरेका थिए।
त्यस अगाडि कार्यक्रममा एनआरएनए अमेरिका टेक्सस च्याप्टर अध्यक्ष दीपेन्द्र गुरागाईँले सबैलाई स्वागत गरेका थिए।
यसै गरी एनआरएनए अमेरिकाका उपाध्यक्ष नेत्र पाण्डे, एनआरएन अमेरिका टुरिजम एन्ड ट्रेड डिपार्टमेन्ट टास्क फोर्सका प्रमुख सबिन्द्र थापाले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए। थापाले नेपाल भ्रमणको निम्तो सबैलाई दिँदै त्यसको लागि आवश्यक सूचना उपलब्ध गराउन आफू तयार रहेको जनाएका थिए। कार्यक्रममा थारु, नेवारी र तामाङ नृत्य प्रस्तुत गर्दै नेपालको सांस्कृतिक बारेमा जानकारी गराइएको थियो।

स्थानीय नेपाली मन्दिरकी अध्यक्ष सीता सापकोटा र भर्जिनिया निवासी एड्रियन पोख्रेलले पनि नेपाल भ्रमणको निम्तो दिएका थिए।
समापन मन्तव्य दिने क्रममा एनआरएनए अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडेले भिजिट नेपालका लागि आफूहरूको कार्यक्रम पहिलो भए पनि अन्तिम नभएको बताए। उनले यस्ता कार्यक्रम अमेरिकाका पचास वटै राज्यमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
युलेस सिटीको पुस्तकालय भवन भित्र भएको कार्यक्रमको सञ्चालन सृष्टि उप्रेतीले गरेकी थिइन।
















