एनआरएनए भनेर मुख देखाउन लाज हुने भए पछि नयाँ संस्था खोल्यौ: सोनाम लामा

पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) पूर्व उपाध्यक्ष सोनाम लामाको अध्यक्षमा विदेशमा बस्ने नेपालीहरूका लागि नयाँ संस्था दर्ता भएको छ।
लामाले आफ्नो अध्यक्षतामा युनाइटेड नेपाली ड्यासपोरा अर्गनाइजेशन (युएनडीओ) को स्थापना गरेका हुन्।
लामा एनआरएनएका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घले निकटका हुन्। उनी लामो समय देखि अमेरिकामा व्यवसाय गर्दै आएका छन्। पछिल्लो समय लामाले नेपालमा आफ्नो गृह जिल्ला मुस्ताङमा होटेल तथा पर्यटन व्यवसायमा पनि ठुलो लगानी गरेका छन्।
परराष्ट्र मन्त्रालयमा युएनडीओ दर्ता गरिएको हो। मन्त्री स्तरीय निर्णयद्वारा संस्था दर्ता गरिएको हो।

समाज टाइम्स सँगको कुराकानीमा लामाले काम नगर्ने तर पद नभई नहुनेहरूका कारण एनआरएनए बदनाम भएकाले आफूहरूले नयाँ संस्था दर्ता गर्नु परेको बताए।
‘एनआरएनए फुटेको होइन विधान विपरीत चलेकोले यो संस्था आएको हो।’ टेलिफोन कुराकानीमा लामाले भने। ‘संस्था त जति धेरै खुले पनि भो नि, काम गर्नु पर्छ, नेपाललाई फाइदा पुर्याइनु पर्यो।’
लामाले काम नगर्ने संस्था कब्जा गर्नेहरूका कारण एनआरएनए बदनाम भएकोले आफूहरू काम गर्नेको मात्र नयाँ संस्था बनाएको दाबी गरे।
‘देख्नु भएन पदका लागि विधानमा नै नभएको काम गरे, तीन तीन अध्यक्ष बनाए, फेरि पनि उनीहरू मिल्न सकेनन्, अहिले नेपालमा एनआरएनए भन्दा मुख देखाउनै लाज भयो त्यसैले नयाँ संस्था खोले।’ लामाले भने।
उनले विनोद कुँवरको अध्यक्षतामा रहेको एनआरएनए सँग आफ्नो कुनै सरोकार नरहेको बताए। ‘उहाँहरूको छुट्टै हो, उहाँहरूले एउटै लोगो चलाएको छ झगडा गरिरहेको छ, त्यस्तो झगडा नगरौँ भनेर हामी यता आएका हौ।’
लामाका अनुसार युएनडीओमा अहिले २८ देशमा रहेका नेपाली जोडिएका छन्। ‘कामदार भिसा र विद्यार्थी भिसा बाहेक विदेशमा रहेका नेपाली यसको सदस्य बन्न पाउँछन्।’ लामाले भने,’ अब हामी छिट्टै साधारण सभा गरेर थप कार्यक्रम ल्याउँछौ।’
उनले काठमाडौँको गैरी धारमा कार्यालय नै सञ्चालनमा गरी सकेको बताए।
‘सात जनाको कार्यकारी बोर्ड सहित ८२ जनाको कार्यसमिति बनाएका छौ।’ लामाले भने ‘हामी काम गर्न आएका हौ, हल्ला खल्ला गर्न होइन। हाम्रो चर्चा कामको आधारमा हुन्छ।’
लामाका अनुसार युएनडीयोको सचिवमा अमेरिकाका तेन्जिङ युक्याब रहेका छन्। यसै गर कोषाध्यक्षमा अस्ट्रेलिया निवासी कुशल क्षेत्री रहेका छन्।
कार्यकारी बोर्ड सदस्यमा अस्ट्रेलियाका रज्जु थापा र इर्साद अहमत, बेलायताका डम्बर घले, जर्मनीका दीपेश खत्री रहेका छन्।