अमेरिकामा दोस्रो रूप स्मृति एभरेस्ट कप क्रिकेट मे २५ देखि
|
Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ रूप स्मृति एभरेस्ट कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण मे २५ देखि अमेरिकाको भर्जिनिया राज्यमा सुरु हुने भएको छ।
पूर्व खेलाडी रूप कार्कीको स्मृतिमा गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका र एभरेस्ट लाइन्स फ्रेण्डसिप एसोसिएसनले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्न लागेका हुन्।
यो प्रतियोगिता पहिलो पटक सन् २०२२ मा एनआरएनए अमेरिका र साथी बाल्टिमोरले आयोजना गरेका थिए। मेरिल्यान्डमा भएको पहिलो संस्करण एभरेस्ट लाइन्सले जितेको थियो।
साबिकको विजेता एभरेस्ट अहिले एनआरएनए सँगको सहकार्यमा प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्न लागेको हो।
एभरेस्ट लाइन्स फ्रेण्डसिप एसोसिएसनका उपाध्यक्ष अभिजित राईका अनुसार तीन दिने प्रतियोगितामा १२ टिमलाई सहभागी गराउने लक्ष्य राखिएको छ।
‘रूप कार्की आफैमा कुशल खेलाडी हुनुहुन्थ्यो उहाँको सम्मानका लागि पनि सुरु भइसकेको प्रतियोगिता रोक्न हुन्न भन्ने लागेर हामी यस पटक जोडिएका हौ।’ समाज टाइम्स सँगको कुराकानीमा उपाध्यक्ष राईले भने।
उनका अनुसार फेब्रुअरी २८ तारिख सम्मका लागि टिम दर्ताको समय तोकिएको छ। प्रतियोगितामा भर्जिनियाका साथै मेरिल्यान्ड, पेन्सिल्भेनिया, ओहायो, न्यु योर्क र बोस्टनका टिमले भाग लिने अपेक्षा गरिएको छ।
‘हामीले बढीमा १२ टिम सम्मलाई प्रतियोगितामा सहभागी गराउने लक्ष बनाएका छौ। टिम दर्ताको कोटा पुरा भए पछि प्रतियोगिता कसरी खेलाउने भन्ने अन्तिम निर्णय गर्छौ। ‘ राईले भने। ‘लिग कम नकआउट चैँ हुन्छ, कति टिम हुन्छन् त्यस अनुसार समूह विभाजन गरेर खेलाउँछौ।’
प्रतियोगिता २०-२० ओभरमा खेलाइने छ। प्रतियोगिताको विजेताले पाँच हजार अमेरिकी डलर नगद पुरस्कार पाउने छ । उप विजेताले तीन हजार पाउने छ। टिम दर्ताका लागि आठ सय डलर तोकिएको छ।
उपाध्यक्ष राईका अनुसार प्रतियोगिताका लागि कुल १८ देखि २० हजार डलरको बजेट तय गरिएको छ। ‘एनआरएनए अमेरिका र हामी एभरेस्टले प्रतियोगिताको खर्च बेहोर्छौ।’ समाज टाइम्स सँग राईले भने,’प्रायोजक पनि खोज्दै छौ।’













