इरानले तीन वटा उपग्रहर प्रक्षपण गर्यो
काठमाडौं । इरानले आइतबार तीनवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको जनाएको छ । तर पश्चिमी देशहरूले इरानको हालैको यो कार्यक्रमको आलोचना गरेका छन् र यसले इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई अझ बढाउने आशंका व्यक्त गरेका छन् ।
इरानको सिमोर्ग रकेटको सफल परिक्षण भएको जनाइएको छ । इरानले गरेको यो प्रक्षेपण गाजा पट्टीमा इजरायलले हमासविरुद्ध जारी युद्धका कारण पश्चिम एसियामा तनाव बढेको बेला रहेकाले अन्तर्राष्ट्रिय समूदायले चासो देखाएका छन् ।
इरानको सरकारी टेलिभिजनले जारी गरेको फुटेजमा राति सिमोर्ग रकेट प्रक्षेपण गरिएको देखाइएको छ ।
सरकारी टेलिभिजनले प्रक्षेपण गरिएका भूउपग्रहहरूलाई महदा, केहान–२ र हत्फ–१ नाम दिएको छ । सरकारी टेलिभिजनका अनुसार महदा एक अनुसन्धान उपग्रह हो, जबकि कायहान र हत्फ क्रमशः ग्लोबल पोजिसनिङ र सञ्चारमा केन्द्रित नानो उपग्रह हुन् ।
अमेरिकाले यसअघि इरानको स्याटेलाइट प्रक्षेपणले आणविक हतियार पुर्याउन सक्ने ब्यालेस्टिक मिसाइलसँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न आह्वान गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गरेको बताएको थियो । इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमसँग सम्बन्धित राष्ट्रसंघले लगाएको प्रतिबन्ध गत अक्टोबरमा सकिएको थियो ।














