नेपालमा पर्यटन प्रवर्द्धनको लागि अमेरिकाको टेक्सस युलेशमा कार्यक्रम हुँदै
टेक्सस/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत टेक्सस च्याप्टरले नेपालमा पर्यटन प्रवर्द्धन लागि टेक्ससमा कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम फेब्रुअरी चार तारिख युलेस सिटीको पुस्तकालयमामा हुने जनाइएको छ। युलेस सिटीका काउन्सिल सदस्य टीका पौडेलको सहजीकरण नेपालमा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले हुने कार्यक्रममा युलेश सिटीका मेयर लिन्डा मार्टिनको प्रमुख आतिथ्यमा हुने जनाइएको छ ।
एनआरएनए उपाध्यक्ष तथा पर्यटन तथा व्यापार विभाग प्रमुख नेत्र पाण्डेले अमेरिकी नागरिक तथा अमेरिकामा बसोबास भएका नेपालीहरूलाई नेपालको सांस्कृतिक, भौगोलिक, प्राकृतिक सौन्दर्य आदि विविध पर्यटकीय आकर्षणका पक्षहरूको जानकारी गराई नेपाल भ्रमणको लागि तत्पर गराउने कार्यक्रमको लक्ष्य रहेको बताए।
कार्यक्रमको बारेमा जानकारी दिँदै एनआरएनए अमेरिका पर्यटन तथा व्यापार विभागका अध्यक्ष सबिन्द्र थापाले नेपालमा पर्यटन विकास गर्न प्रवासमा रहेका नेपालीहरूको सहभागिता तथा योगदान अति महत्त्वपूर्ण हुने र उहाँहरूको सहयोग तथा अत्याधुनिक प्रविधि मार्फत धेरै अमेरिकीहरूलाई नेपाल भ्रमण गर्न आकर्षित गराउन सकिने राय दिए।
त्यसै गरी एनआरएनए अमेरिकाका टेक्सस च्याप्टरका अध्यक्ष दीपेन्द्र गुरागाईँले यस किसिमका गतिविधिहरूले अमेरिकी नेपालीलाई नेपालसँग भावनात्मक रूपमा जोडिरहन तथा अमेरिकी पर्यटक सङ्ख्या वृद्धि गर्न उल्लेखनीय योगदान दिन सक्ने विचार प्रकट गरे ।














