एनआरएनए (केसी समूह)द्वारा भूकम्पपीडितलाई १ करोड २४ लाख सहयोग
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) (डा. बद्री केसी समूह) ले भूकम्पका प्रभावितलाई राहतका लागि १ करोड २४ लाख ६८ हजार रुपैयाँ सहयोग गरेको छ ।
गत कात्तिक १७ गते जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएको थियो । एनआरएनए आईसीसीको १९ औँ महाधिवेशनबाट निर्वाचित भएको दाबी गरेको नयाँ कार्यसमितिले नेतृत्व सम्हालेको ९० दिनको कार्य विवरण शनिवार सार्वजनिक गर्दै उक्त सहयोग गरेको जनाइएको हो ।
कार्यक्रममा एनआरएनए आईसीसीका प्रवक्ता फणीन्द्र पन्तले संघले भूकम्प प्रभावित क्षेत्रमा दीर्घकालीन सहयोगका लागि समन्वय गरेर काम गरिरहेको बताए ।
‘विश्वका ५९ देशका महाधिवेशन प्रतिनिधिहरूले पहिलो पटक अनलाइन मतदानमार्फत अध्यक्षमा डा. बद्री केसीसहितको नयाँ कार्यसमिति चयन गरेको थियो । काम थाल्न नपाउँदै आएका तमाम अड्चन र चुनौतीका बिच विगत तीन महिनामा परोपकार, लगानी, संस्थागत विकास लगायतका मुद्दामा सकारात्मक काम र पहलहरू सुरु गरेका छौ, प्रवक्ता पन्तले दाबी गरे ।
उनले भने, ‘गत नोभेम्बर पहिलो साता जनधनको ठुलो क्षति हुनेगरि गएको भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा गैर आवासीय नेपाली संघले स्वास्थ्य शिविर सञ्चालन, छात्रछात्राहरूलाई न्यानो कपडा वितरण गर्नुका साथै दुई दर्जन देशका गैर आवासीय नेपाली संघका राष्ट्रिय समिति लगायतबाट सङ्कलित करिब १ करोड २४ लाख ६८ हजार रुपैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग गरिएको छ ।’ भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण लगायत दीर्घकालीन सहयोगका लागि संघले स्थानीय सरकारहरूसँग समन्वय गरेर काम गरिरहेको उनले बताए ।
संघले यसै साता धरान र जनकपुरमा गैर आवासीय नेपालीहरूको सहयोगमा सङ्कलित रकमबाट ७० लाख रुपैयाँ पर्ने एक–एक वटा मोबाइल ब्लड बस हस्तान्तरण गरिएको उनले बताए ।
त्यस्तै, टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरूको सहयोगका लागि नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत हौसला स्वरूप १० लाख रुपैयाँ, नेपाली भलिबल राष्ट्रिय टिमका लागि ८ लाख, छैटौँ एनआरएनए सुदूर पश्चिम फुटबल प्रतियोगिताको सहयोगार्थ २ लाख ५० हजार, पोखरा म्याराथनका लागि ७ लाख ५० हजार, एनआरएनए इलाम गोल्ड कपको लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको घोषणा गरेको समेत प्रवक्ता पन्तले जानकारी गराए ।
धनगढीको सेती प्रादेशिक अस्पतालमा १ करोड २५ लाख, कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा १ करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट स्थापना गर्ने कामले पूर्णता पाइसकेको उनले बताए ।
वैदेशिक रोजगारीको लागि कङ्गोमा निधन भएका डोटीका सुरेश सिल्लाको परिवारको सहयोगार्थ गैर आवासीय नेपाली संघ, कङ्गोको सक्रियतामा सङ्कलित २६ लाख ६१ हजार रुपैयाँ परिवारलाई राहतस्वरुप हस्तान्तरण गरिएको छ ।
गैर आवासीय नेपाली संघ सम्बन्धी ऐन, २०६४ बमोजिम संघ दर्ता गरेको १० वर्ष भएको छ । संघ नवीकरण प्रक्रियाका लागि नेपाल सरकारले तोकेबमोजिमका आवश्यक कागजात परराष्ट्र मन्त्रालयमा बुझाएको भए पनि मन्त्रालयको ढिलाइको कारणले तत्काल संस्थालाई नवीकरणको बाटो खोल्न पाटन उच्च अदालतमा निवेदन दर्ता गरिएको जानकारी उनले गराएका थिए ।
कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष बद्री केसीले गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा कुनै धाँधली नभएको दाबी गरे ।
उनले भने, ‘चुनाव हुञ्जेल सहमति हुने, जब नतिजा बाहिर आयो त्यसपछि असहमति जनाउने, त्यो सायद गैर आवासीय नेपाली संघको निर्वाचनमा इतिहासमै पहिलो पटक भएको हो । त्यस्तो खालको अराजकता हामीले कहिले पनि देखेका छैनौँ । ’
निर्वाचनका क्रममा उपाध्यक्षको नतिजामा गडबडी भएको स्विकार्दै अध्यक्ष केसीले भने, ‘एक जना उपाध्यक्षको नतिजामा गडबडी भएकै हो । त्यसमा अनुसन्धान भयो निर्वाचन समितिले त्यसमा कुनै दोष नदेखेपछि हामीलाई शपथ खुवाएको हो ।’
त्यही गडबडीमा आशङ्का गर्दै निर्वाचनमा सहभागी अर्को पक्षले छानबिनको माग गरेको थियो। एनआरएनएका तत्कालीन तीन अध्यक्षले अर्को व्यवस्था नभए सम्मका लागि महाधिवेशनमा सबै कार्यक्रम स्थगित गर्दै मत नतिजा प्रकाशनका क्रममा भएको त्रुटिको छानबिन गर्ने भनेको थियो।
तर केसी समूहले एक पक्षीय रूपमा शपथ लिए पछि अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठ समूहले समानान्तर कमिटी गठन गरेका छन्। तीन वर्ष अगाडि पनि महाधिवेशनको क्रममा एनआरएनए फुटेको थियो। प्रतिनिधि छनौटको विवाद बढ्दै जाँदा दुई ठाउँमा महाधिवेशन भएको थियो। विनोद कुँवरको अध्यक्षतामा अर्को एनआरएनए पनि छ।















