मधेशविरुद्ध सूर्यको ह्याट्रिक, बागमतिको पहिलो जित
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा बागमति प्रदेशले पहिलो जित निकालेको छ । लगातार २ खेलमा पराजित भएको बागमतिले मंगलबार मूलपानी मैदानमा मधेश प्रदेशलाई ८६ रनले पराजित गरेको हो । मधेश प्रदेशको भने यो दोस्रो हार हो । पहिला ब्याटिङ गरेको बागमतिले ४९.२ ओभरमा सवै विकेट गुमाएर १९० रन बनाएको थियो । जवाफमा बागमतिका सूर्य तामाङले ह्याट्रिकसहित ६ विकेट लिएपछि मधेश प्रदेश १०४ रनमा रोकियो ।
टस हारेर पहिला ब्याटिङ गरेको बागमति प्रदेशका लागि प्रतिश जिसीले ५९ रनको अर्धशतकीय पारि खेल्दै टिमको स्को उकासेका थिए । उनले ५५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । यसैगरी रविन जोशीले २१ रन बनाउँदा इशान पाण्डेले १५ रन बनाए । त्यसैगरी विपिन आचार्यले १३ तथा कप्तान रित गौतमले १२ रन बनाए । रिजन ढकालको ब्याटबाट ११ रन बनेको थियो ।
मधेश प्रदेशका रुपेश सिंह र अरनिको यादवले दुई दुई विकेट लिँदा राजेश यादव, रञ्जित कुमार, हरिशंकर साह र पवन शर्राफले एक एक विकेट लिए ।
१९१ रनको लक्ष्यसहित मैदान उत्रिएको मधेश प्रदेशन भने २९ ओभरमा १०४ रन बनाएर समेटिएको थियो । पवन शर्राफले सर्वाधिक ४५ रन बनाउँदा मयन यादवले ३१ रन बनाए । यस्तै, निरजय यादव १५ रनमा नटआउट रहँदा अरु खेलाडीको प्रदर्शन फितलो रह्यो ।
मधेश प्रदेशको पुरै ब्याटिङ अर्डर सूर्य तामाङले ध्वस्त बनाएका थिए । उनले ६ विकेट लिँदा ह्याट्रिक समेत पूरा गर्न सफल भयो । जारी पीएम कपमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी बनेका छन् । २८.१ ओभरमा रुपेश सिंहलाई आउट गरेका थिए । २८.२ ओभरमा राजेश यादवलाई आउट गर्दा २८.३ ओभरमा समसद अन्सारीलाई पभेलियन पठाउँदै ह्याट्रिक पूरा गरेका थिए । सोही ओभरको अन्तिम बलमा रञ्जित कुमारलाई आउट गर्दै एकै ओभरमा ह्याट्रिकसहित ४ विकेट लिए । त्यसअघि उनले २ विकेट लिइसकेका थिए । यस्तै, प्रतिश जिसी र इशान पाण्डेले दुई दुई विकेट लिए ।












