भूकम्प सुरक्षामा सहरीकरणको चपेटाले खुम्चिएको ठाउँ चुनौतीपूर्ण : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढ्दो सहरीकरणको चपेटामा परी खुला ठाउँहरु खुम्चिएको विषयलाई गम्भीर रुपमा हेर्न आवश्यक रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित २६औँ भूकम्प सुरक्षा दिवस २०८० मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
भूकम्पबाट सुरक्षाका लागि खुला स्थानहरुको महत्व निकै हुने भन्दै बढ्दो सहरीकरणको चपेटामा परी काठमाडौं लगायतका खुला ठाउँहरु खुम्चिएकोको विषयलाई गम्भीर रुपमा हेर्न आवश्यक रहेको उनले बताए ।
उनले भने, ‘भूकम्प सुरक्षाको कुरा गरिहँदा खुला स्थानहरुको महत्व निकै छ । हालसम्म राष्ट्रिय विपद् सूचना प्रणालीमा झण्डै एक हजार खुला क्षेत्र विभिन्न पालिकाहरुले पहिचान गरी प्रविष्ट गराएका छन् । सहरीकरणको चपेटामा परी काठमाडौं लगायतका खुला ठाउँहरु खुम्चिएको विषयलाई हामीले गम्भीर रुपमा लिनुपर्छ ।’
उनले सबै पालिकाभित्र भएका भवन र संरचनाहरुको जोखिमको आँकलन गरी नयाँ बन्ने संरचनामा राष्ट्रिय भवन संहिताको पालना गर्न पनि आग्रह गरे ।
उनले भने, ‘सबै पालिकाहरुमा भएका भवन र संरचनाहरुको जोखिमको आँकलन गर्न र नयाँ बन्ने संरचनामा राष्ट्रिय भवन समिताको पालना गर्ने कार्यलाई गम्भीर रुपमा लिन आग्रह गर्दछु ।’
विपद् जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रुपमा दिगो र परिणाममुखी बनाउन सरकार प्रतिबद्ध रहेको गृहमन्त्री श्रेष्ठले बताए ।















