बेलायत निवासी दाहालद्वारा”एक पटकमा एक योगदान” अभियान सुरु
भरतपुर । संसारभरका नेपालीहरुलाई लक्षित गर्दै चितवनको भरतपुरबाट “एक पटकमा एक योगदान” अभियान सुरु गरिएको छ ।
बेलायत निवासी नेपाली युवा व्यवसायी तथा समाजसेवी रघु दाहालले आफ्नो गृहनगर चितवनको भरतपुरस्थीत पार्वतीपुरबाट “एक पटकमा एक योगदान” अभियान सुरु गरेका हुन् ।
स्थानीय विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेर उनले ‘एक पटकमा एक योगदान” अभियान सुरुवात गरिएको घोषणा गरे ।
विदेश रहेका हरेक नेपाली स्वदेश फर्किएका बेला हरेक पटक कम्तीमा एउटा सहयोग गर्नुपर्ने अवधारणाका साथ यो अभियान सुरु गरिएको उनले बताउनु भयो ।
कन्चन समाज विकास परिषद्द्धारा आयोजित कार्यक्रममा समाजसेवी तथा युवा उद्यमी दाहालले हरेक प्रवासी नेपालीलाई स्वदेश फर्किदा हरेक पटक केही न केही सहयोग गर्ने अठोट गर्न आह्वान गरे ।
उनले हरेक महिना कम्तीमा एक लाख नेपाली स्वदेश फर्किने गरेको तथ्यांक प्रस्तुत गर्दै हरेकले सानै भएपनि सहयोग गर्दा अरु लाखौँ नेपाली लाभान्वित हुने तर्क गरे ।
उनले विदेश रहेपनि आफ्नो गाउँ ठाउँका बारेमा सोच्ने बानीले देशप्रतिको माया ताजा रहिरहने र देशको विकासमा पनि योगदान पुग्ने बताए
बेलायतमा होटल, रेष्टुरेन्ट, घरजग्गा व्यवसाय लगायतका विभिन्न पेशा व्यवसायमा संलग्न दाहालले नेपालमा पनि शिक्षा, उर्जा, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी गरेका छन् । उनले यसअघि पनि हरेक पटक स्वदेश फर्कदाँ विभिन्न सहयोगका कार्यक्रम गर्दै आएका छन् ।















