युद्ध भूमिमा रोबोट ‘टर्टल’ प्रयोग गरेको रुसको दाबी
मस्को । रुसले विश्वमै पहिलो पटक युद्ध भूमिमा गोला बारुद पुर्याउन रोबोट ‘टर्टल’ प्रयोग गरेको दाबी गरेको छ । रुसले रोबोटमार्फत युद्ध क्षेत्रमा हतियार पुर्याउने पहिलो देश भएको दाबी गरेको हो ।
रुसस्थित रोबोट विकासकर्ता कम्पनी अर्गोका सीइओ कोन्स्टान्टिन बग्दासारोभलाई उद्धृत गर्दै रुसको सरकारी मिडिया एजेन्सी आरआईए नोवोस्तीले जनाएअनुसार सन् २०२२ मा आक्रमण सुरु भएदेखि नै युद्ध क्षेत्र बनेको लुहान्स्कमा ‘टर्टल’ प्रयोग गरिएको थियो ।
यो रोबोटिक कछुवाले पाँच किलोमिटरसम्म ५ सय किलोको भार बोक्न सक्छ ।
रोबोट विकासकर्ता कम्पनीका सीइओ बग्दासारोभले टर्टल रोबोटको प्रोटोटाइपले लुहान्स्कमा रुसी सैन्य इकाईसँग काम गरिरहेको बताएका छन् ।
यसको मुख्य कार्य गोला बारुद र खाना वितरण गर्ने रहेको बताइएको छ । विशेषसरि रोबोटले मोर्टार चालक दलका सदस्यहरूलाई गोलाहरू पुर्याउँदैछ । रुसी सेना यस रोबोट कछुवाको कामबाट सन्तुष्ट छन् । यसलाई राडारले पनि पत्ता लगाउन नसक्ने रुसको दाबी छ ।
अर्गोका सीईओले यो रोबोटको सीमित गतिका कारण यसलाई टर्टल नाम दिइएको पनि स्पष्ट पारे । उक्त रोबोट पैदल सेनालाई सघाउन डिजाइन गरिएको हो । यसको उच्च गति मात्र १० किलोमिटर छ ।
तर, यसले औसत ६ देखि ७ किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गर्छ । यस्तो अवस्थामा शत्रुहरूले सजिलै देख्न सक्दैनन् । सेनाको समूहले बोकेको रेडियो ट्याग पछ्याएर रोबोटले आफ्नो गन्तव्यमा पुग्न सक्ने पनि बागदासरोभले बताएका छन् ।
विकासकर्ता कम्पनीले भविष्यका लागि अन्य धेरै रोबोटमा पनि काम गरिरहेको बताएको छ । नयाँ रोबोटमा क्षेत्रको इलेकट्रोनिक नक्सा, ग्राउन्ड स्क्यानिङका लागि राडार र स्याटलाइट सञ्चार हुनेछ ।
यी गाडीहरू ठुला हुनेछन् र छुट्टाछुट्टै चेसिस, चक्का र ट्र्याक हुनेछन् । केही दिनअघि रुसी सामाजिक सञ्जाल अकाउन्टले शत्रुको ड्रोन आक्रमणबाट उम्किरहेको र घाइते सैनिकलाई बाहिर निकाल्दै मानवरहित ग्राउन्ड भेहिकल (युजीभी) देखाउँदा यो रोबोटको घोषणा गरिएको हो ।















