हेमन्त स्मृति भलिबल कपको उपाधि चितवनलाई
काठमाडौं । हेमन्त प्रधान स्मृति कप भलिबलको उपाधि चितवनले जितेको छ ।
दोलखाको जिरीमा आइतबार सम्पन्न वाग्मती प्रदेशस्तरीय भलिबलको फाइनलमा रामेछापलाई हराउँदै चितवनले नगद दुई लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता रामेछापले एक लाख नगद, तेस्रो भएको सिन्धुलीले ५० हजार र दोलखाले सान्त्वनास्वरुप ३० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा बेस्ट प्लेयर चितवनका नवीन महतो, बेस्ट स्पाइकर रामेछापका रोशन मगर, बेस्ट सर्भर सिन्धुलीका सरोज हायु, बेस्ट सर्टर चितवनका मन्जिल गुरुङ, बेस्ट ब्लकर चितवनकै मनीष राई र बेस्ट डिफेन्डर रामेछापका माइकल आले भए ।
सशस्त्र द्वन्द्वका बेला हत्या गरिएका तत्कालीन नेपाल तरुण दलका नेता हेमन्त प्रधानको स्मृतिमा नेपाली कांग्रेस प्रदेश सभा (क)ले आयोजना गरेको प्रतियोगिताको समापनमा प्रदेश सभापति शुक्रराज तामाङले विजेताहरुलाई पदक, ट्रफी र नगदसहित सम्मान गरेका थिए ।प्रतियोगितामा वाग्मती प्रदेशका १० जिल्लाका १२ टिमको सहभागिता थियो ।














