प्रधानमन्त्री कपमा पुलिस विजयी
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विभागीय क्लब नेपाल पुलिसले विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको उद्घाटन खेलमा पुलिसले वाग्मती प्रदेशलाई ६८ रनले पराजित गरेको हो ।
पुलिसले पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर २८२ रन बनाएको थियो । जवाफमा वाग्मतीको टोली ४२.३ ओभरमा सबै विकेट गुमाएर २१४ रनमा समेटियो ।
पुलिसका लागि सातौं नम्बरमा आएका राशिद खानले नटआउट शतकीय पारि खेल्दै बलियो योगफल तयार पार्न सहयोग गरे । उनले १०६ रनको पारि खेल्दा आरिफ शेखले ५६ रनको अर्धशतकीय पारि खेले । राशिद प्रधानमन्त्री कपको यो सिजन शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् भने सातौं नम्बरमा आएर शतक बनाउने घरेलु प्रतियोगिताको पनि पहिलो खेलाडी बने । पुलिसका सुनील धमला र अमृत श्रेष्ठले समान २०–२० रन बनाए ।
यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले २१ रन बनाउँदा दिलीप नाथले १३ तथा करण केसीले १५ रनको योगदान गरे । वाग्मतीका रिजन ढकाल र सूर्य तामाङले तीन–तीन विकेट लिँदा गौतम केसी र सोनु देवकोटाले एक–एक विकेट लिए ।
२८३ रनको लक्ष्यसहित मैदान उत्रिएको वाग्मती प्रदेश ४२.३ ओभरमा सबै विकेट गुमाएर २१४ रनमा रोकिन पुग्यो । वाग्मतीका लागि आशुतोष गररियाले ९२ रनको पारि खेल्दा इशान पाण्डेले ४४ रनको योगदान गरे । पहिलो विकेटका लागि यी दुई खेलाडीले ९६ रनको बलियो साझेदारी गरे पनि त्यसपछि लगातार विकेट पत्तन हुँदा लक्ष्य पूरा गर्न असफल भयो । सोनु देवकोटाले १९ तथा विपिन आचार्यले १७ रन बनाउँदा गौतम जीसीले १३ रनको योगदान गरे । प्रतीक श्रेष्ठले १० रन बनाउँदा कप्तान ऋत गौतम ९ रनमा आउट भएका थिए ।
पुलिसका सागर ढकालले ३ विकेट लिँदा करण केसी, रासिद खान, दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए भने ललित राजवंशीको नाउँमा एक विकेट रह्यो ।
उता, भैरहवामा जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ ।
भैरहवाको सिद्धार्थनगर मैदानमा भएको शनिबारको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । बाक्लो हुस्सुका कारण निर्धारित समयभन्दा ढिला गरी सुरु हँुदा खेल ४२ ओभरमा झारिएको थियो ।
जसमा टस हारेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले ३४.४ ओभरमा सबै विकेट गुमाएर जम्मा १११ रन बनाएको थियो । गण्डकीका लागि करण पंगेनीले सर्वाधिक २८ रन बनाउँदा कृष्ण एरले १९ रन जोडे । त्यसैगरी अमृत गुरुङले १३ रन बनाउँद समीर कँडेलको ब्याटबाट पनि १३ रन बनेको थियो । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।
लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिए । उनले ८.४ ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै १६ रन खर्चिएका थिए । मोहमद हुसेनले २ विकेट लिँदा कृष्ण कार्की, अभिषेक गौतम र नर सार्कीले एक–एक विकेट हात पारे ।
११२ रनको लक्ष्य लुम्बिनीले २८.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । लुम्बिनीलाई जित दिलाउन मृनल गुरुङले ४७ रनको पारि खेल्दा मोहमद हुसेनले २१ रन बनाए । यस्तै विराट भण्डारीले १० तथा कृष्ण कार्कीले ९ रन जोडे । कप्तान सुशान्त थापा २ रनमा आउट भएका थिए । गण्डकीका कृष्ण कार्कीले ३ विकेट लिँदा कमल परियारको नाममा पनि ३ विकेट नै रह्यो ।















