गण्डकीका क्रिकेटर शिला र सुमन अस्ट्रेलिया जाँदै
काठमाडौं/ नेपाली महिला क्रिकेटर शिला रेग्मी क्षेत्री र सुमन खतिवडा अस्ट्रेलिया जाने भएका छन् । यही पुष २८ गते उनीहरू सिड्नी युनिभर्सिटी क्रिकेट क्लबको निमन्त्रणामा क्रिकेटका विभिन्न खेलहरूका लागि अस्ट्रेलिया जाने भएका हुन् ।
उनीहरू दुवै कास्की जिल्लाबाट छनौट हुँदै गण्डकी प्रदेशबाट खेल्ने गर्दछन् । सुमन खतिवडा भर्खरै सम्पन्न प्रधानमन्त्री कप महिला टि २० क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट ब्याटर भएकी थिइन भने शिला रेग्मी क्षेत्री अलराउण्डरको भूमिकामा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छिन् ।
सिड्नी युनिभर्सिटी क्रिकेट क्लबका हेड कोच अष्ट्रिेलियाका पूर्व कप्तान एलेक्स ब्ल्याकवेल हुन। शिला र सुमन दुवैले एलेक्सबाट विभिन्न प्रशिक्षणहरू लिनेछन् ।
शिला क्षेत्रीले न्यु साउथ वेल्स क्रिकेट प्रतियोगिताका लागि भोलिन्टीयर कोच रूपमा पनि भूमिका निर्वाह गर्नेछिन् । साथै उनले हाई लेभलको प्रशिक्षण पनि प्राप्त गर्ने सिड्नी युनिभर्सिटी क्रिकेट क्लबले जनाएको छ । सरकारी निकायले अनुमति दिएमा शिलाको लागि न्यु साउथ वेल्सको प्रतियोगिता खेल्ने ढोका समेत खुल्नेछ । उनले सिड्नी युनिभर्सिटी क्रिकेट क्लबको यूथ टिमको एसिस्टेन्ट कोचको रूपमा समेत कार्य गर्ने जनाइएको छ ।
सुमन खतिवडाले सिड्नी युनिभर्सिटी क्रिकेट क्लबका तर्फबाट न्यु साउथ वेल्स क्रिकेट प्रतियोगिता खेल्ने क्लबले जनाएको छ । सुमनले क्लबको आवश्यकतामा भूमिका अनुसार ख्रेल्ने छिन्। साथै उनले अष्ट्रिेलियाको बसाईको क्रममा पहिलो तथा दोस्रो श्रेणीका खेलहरू पनि खेल्ने छिन्। उनले शिलासँगै हाई लेभलको प्रशिक्षण पनि प्राप्त गर्ने सिड्नी युनिभर्सिटी क्रिकेट क्लबले जनाएको छ।
सिड्नी युनिभर्सिटी क्रिकेट क्लबले विश्वका धेरै देशहरूका उच्च सम्भावना बोकेका महिला क्रिकेटरहरूलाई विभिन्न हाई लेभलका क्रिकेट प्रशिक्षणमा बोलाउने गरेको छ । शिला र सुमन दुवै ३ वर्षका लागि सिड्नी युनिभर्सिटी क्रिकेट क्लब जान लागेका हुन् । यद्यपि देशका लागि आवश्यक पर्दा उनीहरू दुवै उपलब्ध हुनेछन्।
उनीहरूलाई गण्डकी प्रदेश महिला क्रिकेट टिमका प्रशिक्षक गोविन्द प्रधान, कास्की जिल्ला महिला क्रिकेट टिमका प्रशिक्षक ऋषि शर्मा, पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष तथा कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष वीरेन्द्र पुन, गिगा दाख हाउसका प्रबन्ध निर्देशक विशाल सुबेदी र पब्लिक टेलिभिजनका निर्देशक उदिपराज ढुङ्गानाले एक समारोह बिच बिदाइ गरेका हुन् ।
अस्ट्रेलियन महिला ब्याटिङ स्टार फोब लिचफिल्ड लगायत अस्ट्रेलियाका सिनियर टिमका सदस्यहरूले पनि सिड्नी युनिभर्सिटी क्रिकेट क्लबका तर्फबाट न्यु साउथ वेल्स क्रिकेट प्रतियोगिता खेल्ने छन् ।















